
उदयपुरको कटारी नगरपालिका–६ सोमबारेस्थित मदन भण्डारी मार्गमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट झापातर्फ गइरहेको मे१च ३०४० नम्बरको जीप बिहीबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा पाँच जना घाइतेसमेत भएका छन् ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँका अनुसार, दुर्घटनामा मृत्यु हुनेमा झापा जिल्ला दमक नगरपालिकाका न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत रहेका छन् ।
घाइते हुनेमा दकम नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्र भण्डारी, दमक–६ का वडासदस्य कमल श्रेष्ठ, दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, गौरादह नपाका ५४ वर्षीय भुवन दाहाल, चालक ३८ वर्षीय देवेन्द्र तामाङ छन् ।
घटनामा गम्भीर घाइते भएका माधवको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य पाँच घाइतेलाई साँझ नै विराटनगरस्थित न्यूरो अस्पताल थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।