२३ असार २०८३, मंगलबार

कुलमानकालीन प्राधिकरणको नाफा फेक, तत्कालको संकट टार्न १० अर्ब ऋण खोज्ने प्रक्रियामा शाक्य

बैशाख १९, २०८२
काठमाडौं
कुलमानकालीन प्राधिकरणको नाफा फेक, तत्कालको संकट टार्न १० अर्ब ऋण खोज्ने प्रक्रियामा शाक्य

नेपाल विद्युत् प्राधिकरणले एक श्वेतपत्र जारी गर्दै प्राधिकरणको वित्तीय, प्राविधिक र व्यवस्थापकीय अवस्था प्रष्ट पारेको छ । प्राधिकरणको नयाँ कार्यकारी निर्देशकका रूपमा पद सम्हालेका हितेन्द्रदेव शाक्यले शुक्रबार पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गरेका हुन् ।

श्वेतपत्रमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा प्राधिकरणले हासिल गरेको भनिएको आर्थिक प्रगतिमा गम्भीर प्रश्नहरू उठाइएको छ ।

श्वेतपत्रले प्राधिकरणको वित्तीय विवरणमा गम्भीर त्रुटिहरू, सम्पत्ति व्यवस्थापनमा कमजोरी र बक्यौता रकमको अनिश्चितताको खुलासा गरेको छ ।

श्वेतपत्रमा घिसिङको नेतृत्वमा प्राधिकरणले कृत्रिम नाफा देखाएको उल्लेख छ भने तत्कालको आर्थिक संकट टार्न प्राधिकरणले १० अर्ब रुपैयाँ अल्पकालीन ऋण लिनुपर्ने अवस्था रहेको जनाइएको छ ।

प्राधिकरणको वित्तीय अवस्था: नाफाको भ्रम

प्राधिकरणले आर्थिक वर्ष २०८०/८१मा४६अर्ब४७करोड रुपैयाँ संचित नाफा र चालू आर्थिक वर्षको फागुनसम्मअर्ब४८ करोड नाफा भएको दाबी गरेको  छ । 

घिसिङले प्राधिकरणलाई घाटाबाट नाफामा पुर्‍याएको भन्दै व्यापक प्रशंसा बटुलेका थिए । तर, महालेखा परीक्षकको प्रतिवेदनले यो नाफा वास्तविक नभएको खुलासा गरेको छ ।

श्वेतपत्रमा महालेखा परीक्षक प्रतिवेदन पनि उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार, प्राधिकरणले ७ अर्ब १९ करोड खर्चलाई लेखांकन नगरेको, ४ अर्ब ७२ करोड आम्दानी बढी देखाएको र २९ करोड ९१ लाख लेखांकन गरिएको छैन ।

आयकर ऐनअनुसार ह्रासकट्टी गर्दा प्राधिकरण हालसम्म ५ अर्ब २६ करोड घाटामा रहेको श्वेतपत्रमा उल्लेख छ ।

यी त्रुटिहरूलाई समायोजन गर्न र वास्तविक आर्थिक अवस्था पत्ता लगाउन ड्यु डिलिजियन्स अडिट रिपोर्ट (डीडीए) गर्नुपर्ने शाक्यले जनाएका छन् ।

सम्पत्ति व्यवस्थापनमा गम्भीर कमजोरी

श्वेतपत्रमा महालेखा परीक्षकको प्रतिवेदनको हवाला दिँदै प्राधिकरणको सम्पत्ति व्यवस्थापनमा गम्भीर कमजोरीहरू रहेको उल्लेख गरिएको छ ।

६ खर्ब ४४ अर्बको सम्पत्तिमध्ये २ खर्ब ३५ अर्ब स्थिर सम्पत्ति र २ खर्ब २० अर्ब निर्माणाधीन आयोजनाहरू छन् ।

तर, लामो समयदेखि सम्पत्तिको भौतिक परीक्षण नभएको, सम्पत्तिको रेकर्ड प्रचलित मापदण्डअनुसार नराखिएको र ३७ करोड १६ लाख कम रकम लेखांकन भएको श्वेतपत्रमा उल्लेख छ ।

२१ सय ७९ रोपनी जग्गाको लालपुर्जा प्राधिकरणको नाममा नभएको, २४ दशमलव १२ अर्बको सम्पत्ति आधारबिना पुँजीकरण गरिएको र डेढ अर्बको निर्माणाधीन सम्पत्ति पत्ता नलागेको जस्ता गम्भीर समस्याहरू रहेको श्वेतपत्रमा उल्लेख छ ।

तरलता संकट र १० अर्ब ऋणको आवश्यकता

श्वेतपत्रले प्राधिकरणको गम्भीर तरलता संकटलाई पनि उजागर गरेको छ । श्वेतापत्रका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म ठेक्का भुक्तानीका लागि ११ अर्ब ६१ करोड बाँकी रहेको तर प्राधिकरणको केन्द्रीय कोषमा जम्मा १० अर्ब १० करोड मात्र मौज्दात छ ।

यो रकममध्ये ३ अर्ब ६८ करोड मुद्दती खातामा, ३ अर्ब ९५ करोड धरौटी खातामा र २ अर्ब ४७ करोड दैनिक सञ्चालनका लागि न्यूनतम जगेडामा छ । बाँकी भुक्तानीका लागि जगेडा नभएकोले प्राधिकरणले तत्काल १० अर्ब अल्पकालीन ऋण लिने प्रक्रिया अघि बढाएको शाक्यले जनाएका छन् ।

बक्यौता रकमको अनिश्चितता

प्राधिकरणको कुल बक्यौता ४४ अर्ब ५४ करोड छ, जसमध्ये डेडिकेटेड फिडर र ट्रंक लाइनको २३ अर्ब ४४ करोड समावेश छ ।

यी बक्यौतामध्ये पहिलो र तेस्रो खण्डका रकम अदालतमा विचाराधीन छन्, र प्राविधिक प्रमाण जुटाउन बाँकी रहेको शाक्यको भनाइ छ ।

नेपाल सरकारबाट कोभिड छुट, चिस्यान केन्द्रलगायतका शीर्षकमा १४ अर्ब १० करोड शोध भर्ना प्राप्त गर्न बाँकी छ । त्यस्तै, महालेखा परीक्षकले यी बक्यौता रकमको प्राप्ति अनिश्चित रहेको र आयमा समावेश गर्नु गलत भएको औंल्याएको छ ।

यस्तो अनिश्चित बक्यौतालाई आयमा समावेश गरेर प्राधिकरणले आफ्नो वित्तीय अवस्थालाई कृत्रिम रूपमा बलियो देखाएको श्वेतपत्रमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्