२४ जेठ २०८३, आइतबार
शिक्षकदेखि कृषकसम्मको यात्रा

कोरोनापछि रवीन्द्रको ‘यू-टर्न’: काठमाडौं छोडेर गाउँ फर्किए, अहिले दैनिक ४ सय लिटर दूध बेच्छन्

बैशाख २०, २०८२
बुटवल
कोरोनापछि रवीन्द्रको ‘यू-टर्न’: काठमाडौं छोडेर गाउँ फर्किए, अहिले दैनिक ४ सय लिटर दूध बेच्छन्

तीन दशकअघि (२०५२ सालमा) हिमालय मावि धुर्कोट गुल्मीबाट एसएलसी दिएपछि रवीन्द्र घिमिरे उच्च शिक्षा पढ्न काठमाडौं हानिए । धुर्कोट गाउँपालिका–५ हुलाकेका घिमिरेले काठमाडौंमा दुई दशक बिताए । काठमाडौंमा अध्ययनसँगै उनले जागिरे जीवन पनि शुरूआत गरे । 

घिमिरे अध्ययन/अध्यापनसँगै आफ्नै लगानीमा संस्थागत (बोर्डिङ) स्कूल सञ्चालनगरी राजधानीमै जमिसकेका थिए । तर, जब कोरोना महामारी आयो रवीन्द्रको मन ‘यूर्टन’ भयो । उनले स्कुल छोडेर गाउँमा पशुपालन गर्ने योजना बनाए । राजधानीबाट फर्केर गाउँमा उद्यम गर्ने कुरा धेरैले पत्याएनन् ।
तर, उनी आफ्नो सोचमा दृढ रहे । काठमाडौंमा तीन दशक बसेका उनी चटक्टै छाडेर गाउँ आए र पशुपालन शुरूआत गरे ।

धुर्कोट गाउँपालिका–५ हुलाकेमा उनले आविष्कार एग्रिकल्चर प्रालि सञ्चालनमा ल्याए । ४४ वर्षीय घिमिरेले अहिले दूध उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । उनले दैनिक ३०० लिटर दूध बिक्री गर्छन् । उनीसँग अहिले विभिन्न उन्नत प्रजातिका दुई दर्जन भैँसी र केही केही दुहुना गाई छन् ।

गाउँ फर्किएर पशुपालन कर्म थालेसँगै उनी काठमाडौंभन्दा खुसी छन् । दुग्ध उत्पादनमा ध्यान केन्द्रित गर्दै गाई/भैंसी पालन व्यवसाय गरेर उनले राम्रो आम्दानीसमेत गरिरहेका छन् । व्यवसायलाई विविधिकरण, व्यावसायिकीकरण र आयमूलक पेशाको रूपमा विकास गरेका छन् । 

उनीसँगै विभिन्न किसानबाट संकलन भएको दूध र दुग्धजन्य पदार्थ पालिकाभित्रै र जिल्ला सदरमुकास तम्घाससम्म खपत हुने गरेको छ । आफ्नो ऊर्जालाई गाउँकै माटोमा खर्चने सपना बोकेर घर फर्किएका घिमिरे पशुपालन व्यवसायमा उदाहरणीय पात्र बनेका छन् । 

‘काठमाडौं बसाइँमा सन्तुष्ट हुन नसकेपछि स्वदेशमै केही गर्ने सोचका साथ उनी गाउँ फर्किएँ,’ मास्टर डिग्री गरेका कृषक घिमिरे भन्छन्, ‘गाउँ फर्किएपछि भैँसीपालन व्यवसाय शुरू गरेँ । अहिले मलाई कृषि उद्यमी भनेर चिन्छन् ।’ 

घरमै कम्पोष्ट मल उत्पादन गरेर उनले कृषिलाई पनि प्राथमिकता दिँदै आएका छन् । आफूले पशुपालन व्यवसायसँगै गाउँमै दूध संकलन गर्ने ‘सिस्टम’ पनि विकास गरेको घिमिरे बताउँछन् । उनीसँग अहिले २६ जना कृषक दूध बिक्री गर्न जोडिएका छन् ।  

उनले भैँसी किनबेच पनि गर्छन् । ‘कसैले भैँसी बिक्री गर्न खोजेका छन् भने मैले किन्ने पनि गर्छु’ उनी भन्छन्, ‘गाउँमा राम्रो गहुँ उत्पादन हुने भएकोले आटा उद्योग सञ्चालन गर्ने सोच पनि मेरो छ । विदेश गएका युवालाई देशमै केही गर्न सकिन्छ, गाउँमा पनि केही छ है भन्ने खालले उद्यमशिलतासँग युवालाई जोडन लागेको छु ।’ 

घिमिरेको आफ्नै पहलमा साथीहरूसहित काठमाडौं महानगरपालिका– १५ विजेश्वरीमा  विस २०६५ साददेखि सनसाइन बोर्डिङ चलाएका थिए । घिमिरे बोर्डिङको प्रबन्धक थिए । स्कूल अहिले पनि चलेको छ । तर, उनले आफ्नो दायित्व सबै साथीलाई दिएर गाउँ फर्किएका हुन् । 

पछिल्लो समय फर्ममै गाउँको दूध संकलन गरेर बिक्री पनि गर्छन् । घिमिरेले आगामी असोजसम्म व्यवसायको लगानी एक करोड रूपैयाँ पुर्‍याएका छन् । अहिले आफ्नै फर्मको डेढ सय र बाहिरको गरेर दैनिक चार सय लिटर दूध बिक्री गरिरहेको उनको भनाइ छ । उनले दैनिक चार जनालाई फर्ममा पूर्णकालीन रोजगारी दिएका छन् । सरकारले सहुलियतपूर्ण कर्जा दिने र प्रशस्त कामदार पाइने अवस्था रहे व्यवसायबाट पलायन हुने स्थिति नहुने उनले बताए । ‘कृषि पेशामा सबैभन्दा ठूलो चुनौती कामदारको हो । मेरो फर्ममा काम गर्ने कामदारलाई श्रमको पूर्ण मूल्याङ्कन गरेर पारिश्रमिक दिँदै आएको छु । ६ जना युवाहरूले फर्ममा काम गर्नुहुन्छ,’ घिमिरे भन्छन्, ‘नेपालको कृषि क्षेत्रमा पेशागत कामदारको सबै ठाउँमा अभावले जोखिम पनि देखिएको मैले पाएँ ।’ 

स्वरोजगार बनेर आफू मात्र होइन, अरू युवालाई समेत रोजगारी दिएर आफ्नै मातृभूमिमै सुन फलाउन सकिने सम्भावना रहेको उनी दाबी छ । उनले तराईतिरबाट पनि उन्नत जातका भैँसी ल्याएर पहाडमा पालेका छन् । पहाडको हावापानीसँग तराईका भैँसी समायोजन हुन सक्छन् कि सक्दैनन् भनेर परीक्षण पनि गरिरहेका छन् । 

तराईका भैँसी पहाडमा पाल्न सकिने उनको अनुभवले देखाएको छ । बसाइँसराइले पहाड खाली हुँदै गए पनि उनी तराई झर्ने सोचमा छैनन् । बसाइसराइँले रित्तिएका गाउँलाई चलायमान बनाउन आफू आएको उनी सुनाउँछन् । शुरूमा परिवारले साथ दिएका थिएनन् । ‘काठमाडौंमा बसेको मेरो श्रीमती अहिले गाउँ आएर गाइभैँसीको स्याहार गर्छिन् । मेरा दुई छोरा पनि अहिले गाउँमा कृषि गर्न कन्भिन्स भइसकेका छन्,’ घिमिरे भन्छन् ।

‘पशुपालनमा मात्र सीमित छैनन् उनी । उनी जहाँ पुग्छन्, त्यहीँ पुग्छ कृषि र पशुपालनबारे छलफल हुन्छ । अरूलाई कृषि पशुपालन गर्न प्रेरणा र हौसला दिँदै हिँड्ने उनका दुई छोरा पनि पशुपालन रोज्न थालिसकेका छन् । उनी अहिले सहभागितामूलक कृषि खेतीका लागि दौडधूप गरिरहेका छन् । ‘एक्ला एक्लैभन्दा सामूहिकताले कृषिलाई चाँडो व्यावसायिक बनाउने’ उनको भनाइ छ । 

जागिरको शिलशिलामा युवाहरू आफ्नो ठाउँ बाहिर रहे पनि अवकाशपछि गाउँ फर्किनुपर्ने उनी सुझाउँछन् । गएर उतै हराउनेसँग उनको चित्त बुझेको छैन । उनको सल्लाह छ, ‘शहरमा अपरिचित भएर बस्नुभन्दा गाउँ फर्केर अनुभव बाँड्नु जीवनकै ठूलो समाज सेवा हो ।’ 

हावापानी र जैविक विविधताले गुल्मी धुर्कोट पशुपालनका लागि उपयुक्त मानिन्छ । धुर्कोटको वातावरण, वनजंगल, जलस्रोत अनि कृषि क्षेत्रले ओगटेको जमिनलगायत सबै कुरालाई हेर्दा पशुपालनका लागि उपयुक्त छ । 

यही अवसरलाई शक्तिमा बदल्न सफल तीन तहका सरकारले कृषि गर्न लम्किएका युवालाई हेर्न आवश्यक रहेको घिमिरेको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्