
इटहरीको रंगशाला नजिकै एउटा क्याफे छ, जसले पहिलो नजरमै ग्राहकको ध्यान तान्छ । क्याफेमा टायरका मुढा र बेतका कुर्सी राखिएका छन् अर्थात् खेर गएका सामग्रीबाट बनेका आकर्षक सामगीहरू राखिएका छन् ।
पसलमा फुलेका फूल, बोटविरुवा र शान्त वातावरणले धेरैको ध्यान आकर्षित गर्छ । क्याफे डी स्टेडियम सञ्चालक सन्तोष राई हर्षित मुद्रामा ग्राहकलाई स्वागत गर्छन् । तर, हाँसोभित्र लुकेको उनको संघर्षको बथा भने दर्दनाक छ ।
सन्तोषको बाल्यकाल इटहरीमा बित्यो । बुबा महेशकुमार राई खोटाङका हुन् । आमा रामकुमारी राई भोजपुरकी भए पनि इटहरी नै बसाइँ सरिसकेका थिए ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उनी मामाघरमा हुर्के । ‘मामा घरको आर्थिक अवस्था राम्रो थियो । हजुरबुबा लाहुरे हुनुहुन्थ्यो,’ बाल्यकाल सम्झँदै सन्तोष भन्छन्, ‘मावलीले नै हामीलाई घर बनाएर राखिदिएका थिए ।’
तर, २०५२ सालमा टीबी रोगका कारण बुबाको मृत्यु भयो । जुट मिलमा काम गर्दागर्दै बुबा बितेको उनी बताउँछन् । त्यसको ६ वर्षपछि सन्तोषलाई अर्को ब्रजपात आइपर्यो । २०५८ सालमा आमाको पनि निधन भयो । ‘इटहरीको आर्मी पृतना छेउमा रुख कटान भइरहेको थियो । हाँगाहरू स्थानीयलाई दिएको थियो,’ उनी विगत सम्झिँदै भन्छन्,’ दाउरा हुन्छ भनेर हाँगा लिन आमा जानुभएको थियो । रुखका हाँगा लागेर आमाको मृत्यु भयो ।’
९ कक्षा पढ्दापढ्दै सन्तोष अनाथ भए । उनी भन्छन्, ‘२०६१ सालमा एसएलसी पासगरी जनता कलेज इटहरीमा भर्ना भएँ । तर, दुई वर्षपछि परीक्षा छोडें । पढ्नेतिरभन्दा कमाउनेमा ध्यान गइसकेको थियो । बुबा–आमा नै नभएपछि खर्चको जोहो पनि गर्नुपर्यो ।’

सन्तोषले दिदीको सहयोगमा २०६८ सालतिर साथीहरूसँग मिलेर इटहरी उपमहानगरपालिका अगाडि फास्टफुड सेन्टर खोले । अनुभव नभएपछि उनीहरूको पहिलो अभ्यास असफल भयो ।
त्यसपछि उनी काठमाडौं गए । काठमाडौंमा उनकी दिदी बस्थिन् । दिदी विमला राईले भाइलाई कुक तालिम सिक्न लगाइन । त्यसपछि पैसा कमाउन सन्तोष दुबई गए । तर, तीन वर्षमा लगभग चार लाख मात्रै जम्मा भयो । ‘कुक भनेर गए पनि हेल्परमा काम लगाए,’ उनी भन्छन्, ‘हामीलाई मेनपावरले बेचेको रहेछ । यहाँबाट उता लगेर पनि अर्काे बिचौलियालाई जिम्मा लगायो ।’
सन्तोषले दैनिक १२ घण्टा काम गर्थे, तर उनको तलबको ठूलो हिस्सा बिचौलियाले खान्थ्यो । ‘हाम्रो तलब त्यहाँको ४ हजार हुँदो रहेछ, उसले ३ हजार लिएर १ हजार मात्रै हामीलाई दिन्थ्यो,’ उनले भने । नेपालको करिब ३० हजार हुने त्यो रकमबाट उनले मासिक १८–१९ हजार जम्मा गर्न सफल भए ।
नेपाल फर्केपछि सन्तोष अलमलिए । नेपाल आएर पनि के गर्ने भनेर अलमलिएको उनी बताउँछन् । उताबाट कमाएर ल्याएको पैसा पनि सकिन लागेपछि थप चिन्ता बढ्यो । केही समय विदेश फर्कने विचार पनि गरे । अन्ततः उनले इटहरी रंगशाला छेउमा खाजा पसल खोल्ने निर्णय गरे ।
सन्तोषको खाजा पसल आज क्याफे बन्यो । सन्तोषको क्याफे स्थानीय युवा र कलेजका विद्यार्थीहरूको प्रिय अड्डा बनेको छ । उनको क्याफेमा मःम, चिकन रोल, पेग रोल, पकौडा, लस्सी, थुक्पा, आलु परौठा आदि पाइन्छ । ताजा खानेकुरा पाउने भएकाले धेरै मान्छे खाजा आउने गरेको उनी बताउँछन् ।

अनौठो वातावरण पनि क्याफेमा मान्छे तान्ने अर्को माध्यम हो । सन्तोषले खेर गएका सामग्रीहरूको प्रयोग गरेर सुन्दर सिर्जना गरेका छन् । टायरका मुढा, बेतका कुर्सीहरू र खेर जाने विभिन्न भाडामा फूलहरू रोपेका छन् । हरियाली देख्दा आफू पनि तनावमुक्त हुने सन्तोष बताउँछन् ।
श्रीमती अनिष लिम्बुले सन्तोषलाई सघाउँछिन् । दिदी विमला राई उनको लागि बुबा–आमा दुवै हुन् । ‘बुबा भने पनि आमा भने पनि उहाँ नै हुनुहुन्छ,’ सन्तोष भावुक हुँदै भन्छन्,’ मेरा लागि उहाँले ठूलो सहयोग गर्नुभएको छ । भाइ मनोजले आफ्नै कार भाडामा चलाउँछन् ।
खाडी मुलुकभन्दा नेपालमै कमाइ राम्रो हुने उनको भनाइ छ । विदेशमा भौतिक सुविधा भए पनि मानसिक शान्ति नभएको उनको अनुभव छ । ‘यहाँ परिवारसँग बस्न पाइएको छ । उता त काममा गयो, आयो, सुत्यो कोही चिनेको हुँदैन । एक किसिमको मानसिक समस्याजस्तै हुन्छ,’ उनी भन्छन् ।
पुरानो सामानलाई नयाँ जीवन दिएजस्तै, सन्तोषले आफ्नो जीवनलाई पनि नयाँ दिशा दिएका छन् । संघर्षबाट उठेर सफलता हासिल गर्ने सन्तोष एक जीवन्त उदाहरण हुन् ।