
मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १७ गैरीगाउँमा सडक भासिँदा रोकिराखेको गाडी बेपत्ता भएको छ।
गैरीगाउँस्थित भित्री कच्ची सडकमा शुक्रबार दिउँसो सडक भासिएर गाडी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
ना ४ च ४८३३ नम्बरको गाडी सडक भासिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले लोकान्तरलाई जानकारी दिए ।
'गाडी पुरिएको छ, देखिएको छैन, निकाल्ने प्रयास भइरहेको भए पनि पानी र माटो झरिरहेकाले समस्या भएको छ,' उनले भने ।
घटनास्थल नजिकै ठूलो माछा पोखरी रहेको र त्यही पोखरीको पानी सडक भासिएको ठाउँमा झरेकाले गाडी खोज्न समस्या भएको डीएसपी अर्यालले जानकारी दिए । '२ वटा मोटरले पानी निकालेर गाडी खोज्ने प्रयास भइरहेको भए पनि प्रयास सफल भएको छैन,' उनले भने ।
शुक्रबार गाडीमा बसिरहेकै समयमा अगाडिको भाग एक्कासि भासिन थालेपछि आफू बाहिर निस्किएको चालक हरि राईले जानकारी दिएका प्रहरीले जनाएको छ ।