
काठमाडौं, १५ मंसिर — जिम्बाब्वेका नयाँ राष्ट्रपति इम्मर्सन म्नाङ्गवाले नयाँ मन्त्रिमण्डल घोषणा गरेका छन् । उनले सेनाका वरिष्ठ अधिकारीहरूलाई उच्च पदमा नियुक्त गरेका छन् ।
म्नाङ्गवाले सैनिक कू भएपछि सरकारी टीभीमा देखापरेका जर्नेल सिबुसिसो मोयोलाई विदेशमन्त्री बनाएका छन् ।
जिम्बाब्वेको वायुसेना प्रमुख पेरेन्स शिरीलाई कृषिमन्त्री बनाइएको छ ।
म्नाङ्गवालाई अघिल्लो हप्ता रोबर्ट मुगाबेले राजीनामा दिन सहमति जनाएपछि राष्ट्रपति बनाइएको थियो । मुगाबेले उपराष्ट्रपतिबाट म्नाङ्गवालाई हटाएपछि सेनाको समर्थनमा उनी राष्ट्रपति बनेका हुन् ।
नयाँ राष्ट्रपतिले मुगाबे मन्त्रिमण्डलका सदस्यमध्ये धेरैलाई दोहो–याएका छन् अनि आफूलाई सहयोग गर्ने सैनिक नेताहरूलाई पनि भित्र्याएका छन् ।
मोयो र शिरीका अलावा शक्तिशाली वार भेटेरन एसोसिएसनका नेताहरूलाई पनि मन्त्री बनाइएको छ । उक्त एसोसिएसनले मुगाबेलाई सैनिक हस्तक्षेपपछि राजीनामा दिन लगाएको छ ।
उक्त समूहको नेतृत्व गर्ने क्रिस मुत्स्वांगालाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सरकारका आलोचक टेन्डाई बिटीले यी नियुक्तिहरूले जिम्बाब्वेवासीको परिवर्तनको आशामा तुषारापात गरेको टिप्पणी गरे ।
पेरेन्स शिरीले सन् १९८० को दशकको शुरुवातमा मुगाबेका विपक्षीहरूविरुद्ध माताबेलेल्यान्डमा सैनिक कारवाही गरेर बदनामी कमाएका थिए ।
उक्त कारवाहीमा परी २० हजार सर्वसाधारणको ज्यान गएको थियो ।
बीबीसीबाट