२५ जेठ २०८३, सोमबार

नागढुंगा-नौबीसे सडक खण्ड रातिमा बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बैशाख २०, २०८२
काठमाडौं
नागढुंगा-नौबीसे सडक खण्ड रातिमा बन्द गरिने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा-नौबीसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे ।

काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा रोकिने र नौबीसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ ।

आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ ।

उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ ।

सूचनामा भनिएको छ, 'रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने ब्यहोरासमेत जानकारी गराइन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्