२८ जेठ २०८३, बिहीबार
मध्यपूर्वमा तनाब बढ्दै

गाजा पट्टी पूरै कब्जा गर्ने इजरायलको तयारी, मन्त्रिपरिषद्‌बाट योजना स्वीकृत

बैशाख २३, २०८२
काठमाडौं
गाजा पट्टी पूरै कब्जा गर्ने इजरायलको तयारी, मन्त्रिपरिषद्‌बाट योजना स्वीकृत
तस्वीर : रोयटर्स ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा पट्टीमा प्यालेस्टिनी लडाकु समूह हमासविरुद्धको आक्रमण अब ‘तीव्र र विस्तारित’ हुने बताएका छन् । 

उनका अनुसार सुरक्षा मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको योजना अनुसार गाजा पट्टीको सम्पूर्ण भूभाग नियन्त्रणमा लिने र मानवीय सहायता वितरणमा पनि इजरायलकै पकड रहनेछ ।

तर, एक इजरायली रक्षा अधिकारीले यो योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आउँदो साता हुने मध्यपूर्व भ्रमण सम्पन्न नभएसम्म लागू नहुने जानकारी दिएका छन् ।

नेतान्याहुले भिडियो सन्देशमार्फत भने, ‘यो अपरेशन तीव्र हुनेछ र गाजाका थप नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि अन्यत्र सारिनेछ ।’ 

उनले अघिल्ला छोटो अवधिका बाह्य हमला रणनीति अब नअपनाइने र गाजामा कब्जा गरिएका भूभागहरू इजरायलले छाड्ने पक्षमा नरहेको उल्लेख गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

इजरायली सार्वजनिक प्रसारक ‘कान’ले सरकारी अधिकारीहरूको हवाला दिँदै तयार पारेको रिपोर्टअनुसार यो योजना क्रमिक रूपमा अघि बढ्नेछ, जसमा प्रारम्भिक चरणमा गाजाको एउटा क्षेत्रमा मात्र सेनाको ध्यान केन्द्रित हुनेछ । यस योजनालाई पूर्ण कार्यान्वयन गर्न केही महिना लाग्न सक्ने जनाइएको छ ।

इजरायली सेनाले पहिले नै गाजाको झन्डै एक तिहाइ भूभाग नियन्त्रणमा लिइसकेको छ । त्यहाँका बासिन्दा विस्थापित भइसकेका छन् र खाली गराइएको जमिनमा सुरक्षाक्षेत्रको रूपमा निगरानी टावर र चौकी निर्माण गरिएको छ । 

एक अधिकारीले भनेका छन्, ‘नयाँ अपरेशनले गाजा पट्टीको सम्पूर्ण भूभाग कब्जा गर्नेछ, त्यहाँको नागरिक जनसंख्यालाई दक्षिणतिर सार्नेछ र मानवीय सहायता हमासको हातमा नपरोस् भन्ने सुनिश्चित गरिनेछ ।’

रक्षा अधिकारीका अनुसार हाल राहत वितरण संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले गर्दै आएका छन् । तर, नयाँ योजना लागू भएपछि यो जिम्मेवारी निजी कम्पनीहरूलाई दिइनेछ र वितरण गाजाको दक्षिणी क्षेत्र राफाहमा केन्द्रित गरिनेछ ।

यसैबीच, अमेरिकी दूत स्टिभ विटकोफले एक सञ्चार माध्यमसँगको कुराकानीमा इजरायल ‘सार्वभौम राष्ट्र’ भएकोले आफ्नै निर्णय गर्ने स्पष्ट पारेका छन् । उनले राष्ट्रपति ट्रम्पको भ्रमण अगावै वा भ्रमणकै क्रममा युद्धविराम र बन्दी मुक्तिको सहमति हुने आशा व्यक्त गरेका छन् । ह्वाइट हाउसले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन ।

युद्धविराम सम्झौता असफल भएपछि गत मार्चमा इजरायलले आक्रमण पुनः शुरू गरेको हो । त्यसयता गाजामा खाद्य तथा औषधि सहायता प्रतिबन्ध लगाइएको छ, जसका कारण संयुक्त राष्ट्रसंघले २३ लाख जनसंख्या भोकमरीको जोखिममा परेको चेतावनी दिएको छ ।

हमासका वरिष्ठ नेता महमूद मर्दावीले भने इजरायली रणनीतिलाई ‘दबाब र ब्ल्याकमेल’ भन्दै अस्वीकार गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्