१९ असार २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

दबाबमा तीन दलदेखि जनमतमा अर्को लफडासम्म

बैशाख २३, २०८२
काठमाडौं
दबाबमा तीन दलदेखि जनमतमा अर्को लफडासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका हौँ–
प्रमुख तीन राजनीतिक दलहरू २०८४ को चुनावअघि नै महाधिवेशन गर्नुपर्ने दबाबमा देखिएका छन् । २०७८ मा आ–आफ्ना महाधिवेशन गरेका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तीनैका लागि २०८२ महाधिवेशनको वर्ष हो । 

ढिलो हुँदा २०८४ को स्थानीय तह, प्रदेश र संघको चुनाव नजिक आइपुग्छ । महाधिवेशनलगत्तै चुनाव भए गुटगत राजनीतिको प्रभाव चुनावमा प्रत्यक्ष पर्ने डर तीनै दलमा देखिन्छ ।

यसैले कम्तीमा २०८३ मंसिरभित्रै चुनाव गरेर २०८४ को चुनावमा होमिनुपर्ने दबाब तीनवटै ठूला दलसामु छ ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले स्पट फिक्सिङमा परेका अलराउन्डर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ ।

क्यानले आदिलमाथिको प्रतिबन्ध आइतबारदेखि फुकुवा गरेको हो । अब उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न पाउने भएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको ध्यान सरकार बनाउनेतिर नरहेको स्पष्ट पारेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आफ्नो धारणा राखेर बाहिरिने क्रममा संघीय संसद् परिसरमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै उनले माओवादीको ध्यान जनतामै केन्द्रित रहेको बताए । प्रचण्डले सोमबार नै नीति तथा कार्यक्रमका सम्बन्धमा उनले संसदमा आफ्नो धारणा पनि राखेका छन् । 
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा सोमबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् ।
००००
काठमाडौं तीनकुनेमा भएको आगजनी र तोडफोड घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खेमराज सेढाई छन् ।
००००
नेपाल प्रहरीका २०८ प्रहरी नायब निरीक्षकहरूको एकैपटक बढुवा तथा पदस्थापन भएको छ ।

प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयअनुसार जनपद प्रहरी समूहका प्रहरी सहायक निरीक्षक पदबाट बढुवा भई प्रहरी नायब निरीक्षक पदमा नियुक्त भएका अधिकृतहरूको सोमबार पदस्थापन गरिएको हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ ।     

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा पछिल्ला राजनीतिक तथा समसामयिक विषयमा सकारात्मक कुराकानी भएको जनाइएको छ ।
००००
राजधानीको बालाजुस्थित १६ नम्बर वडा कार्यालय अगाडिको सडक जलमग्न बनेको छ । सोमबार साँझ परेको वर्षासँगै करिडोर सडक रहेको सो क्षेत्र जलमग्न बनेको हो ।
००००
जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादवकी पत्नी ललिता यादवले ललितपुरको इमाडोलस्थित घर र त्यससँग सम्बन्धित दुई कित्ता जग्गा आफूहरूको निजी सम्पत्ति भएको दाबी गरेकी छन्।

पार्टीका प्रवक्ता डा शरद सिंह यादवले दिएको आपराधिक विश्वासघातको जाहेरीका आधारमा कोषाध्यक्ष यादवलाई पक्राउ गरिएको थियो। उक्त गिरफ्तारी गैरकानूनी भएको दाबी गर्दै ललिता यादवले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी छिन् ।

सोही निवेदनमा उनले सम्पत्ति आफूहरूको निजी भएको र सीके राउतलाई भाडामा दिएको उल्लेख गरेकी छन्। 

भाडा सम्झौता वडामा दर्ता गरिएको र त्यसको लिखित प्रमाणसमेत आफूले पेश गरेको ललिताले उल्लेख गरेकी छन् । ललिताले दाबी गरेअनुसार सीके राउतले यही अस्थायी ठेगानालाई आधार बनाई आफ्नी पत्नीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेका छन्।
त्यसैक्रममा राउतले उक्त घर पार्टीको हो भनेर झुटो आरोप लगाई जाहेरी दिन लगाएको र त्यसका आधारमा आफ्ना श्रीमानमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाइएको छ ।
००००
नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ नदिए सरकारलाई दिएको समर्थन फिर्ताको चेतावनी दिएको छ । 

सोमबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा नाउपाका सचेतक लालवीर चौधरीले रेशमलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै आपत्ति जनाएका हुन् । 
००००
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

आगामी आर्थिक वर्ष २०८२/८३  को बजेटका विषयमा परामर्श गर्न उनी देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् ।
००००
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई  संशोधन गर्न बनेको विधेयक उपर सर्वसाधारणसँग राय सुझाव मागेको छ ।

मन्त्रालयले सोमबार विधेयक वेबसाइटमा अपलोड गर्दै सर्वसाधारणसँग रायसुझाव माग गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ ।
सोमबार  तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय ९३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्