
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकरकुमार सिंहसहित ३ जना र १ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकृत सिंहका साथै लेखा अधिकृत मुकेशप्रसाद साह र नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौलाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार आयोगले नेपाल मिडिया हाउसलाई पनि प्रतिवादी बनाएको छ ।
गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्ने कार्य (PRM/04/079/80) को खरिद प्रक्रिया गोप्य राखेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा विद्युत् पोल गाड्ने ठेक्कासम्बन्धी सूचना दैनिक पत्रिकामा सार्वजनिक नगरी झुटा विवरणसहित अभिलेख राखिएको पाइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत सिंह र लेखा अधिकृत साहले नेपाल मिडिया हाउसका निर्देशकसँग मिलेमतो गरी १ लाख ४२ हजार १६० रुपैयाँ भुक्तानी गरेका आयोगको दाबी छ ।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवाना मागसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
यस्तो छ अभियोग पत्र