
वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन रोगको कारण थलिएका नेपालको मंगलबार थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । राजनीतिबाहेक नेता नेपाल प्रगतिशील साहित्य, जनवादी गीतसंगीतमा पनि ख्याति कमाएका व्यक्ति हुन् । भोजपुरमा जन्मिएका नेपालको ७२ वर्षको उमेरमा निधन भएको हो ।
नेकपा एमालेले विशेष रूपमा स्मरण गर्ने मनमोहन अधिकारी प्रधानमन्त्री भएको २०५१ सालको सरकारमा उनी सञ्चारमन्त्री भएका थिए । दोस्रो जनआन्दोलनपछि पुनःस्थापित सरकारमा नेपाल शिक्षामन्त्री भएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रखर नेता नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ। वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
यस्तै, एमाले नेता गोकुल बाँस्कोटाले नेपालको निधनले मन भारी भएको लेखेका छन् । ‘सुन्दा मन भारी भयो, तर खबर तीतो सत्य बन्यो । हार्दिक श्रद्धाञ्जली कमरेड प्रदीप नेपाल प्रति ! र, गहिरो समवेदना शोक सन्तप्त परिवारजनमा,’ बाँस्कोटाले लेखेका छन् ।
नेपालसँगै चुनाव लडेका लोकेश ढकालले चुनावी प्रतिस्पर्धा स्मरण गर्दै दुःख व्यक्त गरेका छन् । ‘वामपन्थी नेता, लेखक एवं साहित्यकार प्रदीप नेपालको निधनको खबरले दुःखित भएको छु । २०५६ सालको आमनिर्वाचनमा तत्कालीन क्षेत्र नम्बर १ काठमाडौंमा प्रतिनिधिसभा सदस्यमा सँगै हामी चुनाव लड्यौं,’ ढकालले लेखेका छन्, ‘उहाँले जित्नु भयो । म दोस्रो भएँ । उहाँसँगका प्रसंग अब स्मृतिमा मात्र । हार्दिक श्रद्धाञ्जली !’
एमाले नेता विष्णु रिजालले आफ्नो लागि एउटा दीप निभेको उल्लेख गरेका छन् । ‘मेरा लागि एउटा दीप निभेको छ । कुनै कुराका लागि व्यक्तिगत रूपमा सबभन्दा बढी कसैप्रति ऋणी र अनुगृहीत छु भने प्रदीप नेपालप्रति छु । निः शब्द छु । सान्निध्यका क्षणहरू मानसपटलमा रिल झैं घुमिरहेका छन्,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अक्षरका उपासक, सक्रियताका पर्याय र सिर्जनशीलताका उदाहरण आदरणीय प्रदीप नेपालको ऋण आजीवन अक्षरहरूको उपासनाबाट तिर्ने कोसिस गर्नेछु । अलबिदा कमरेड ! भावपूर्ण श्रद्धाञ्जली !!’
माओवादीका युवा नेता लेखनाथ न्यौपानेले कम्मल मिल्काउने अग्रज नेताको जीवन अन्त्य भएको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘कम्मल मिल्काउने अग्रजको जीवन अन्त्य । कम्मल ओढेर घिउ खाने नेताहरूको बिगबिगीका बेला कम्मल फालेर हाक्काहाक्की विषय राख्ने अग्रज नेता तथा साहित्यकार प्रदीप नेपालको नेतृत्वमा शमी साहित्य प्रतिष्ठानमा केही वर्ष काम गर्ने अवसर मिलेको थियो,’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यतिबेला उहाँलाई नजिकबाट चिन्दा निकै सरल पाएको, आज उनै अग्रजको मृत्युको खबर सुन्दा नमीठो अनुभूति भयो । प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली !’
कांग्रेस नेता चन्द्र भण्डारीले नेपालले लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेका छन् । ‘आदरणीय प्रदीप नेपालको निधनले खबरले स्तब्ध बनाएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान महत्वपूर्ण छ,’ भण्डारीले लेखेका छन् ।
राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले स्पष्ट र अध्ययनशिल कम्युनिस्ट नेताको रूपमा स्मरण गरेका छन् । ‘प्रदीप नेपाल कुनै समयको सञ्जय थापा सशक्त साहित्यकार, खुला र स्पष्ट, अध्ययनशिल अग्रज । कम्युनिस्ट आन्दोलनको एक स्तम्भ, नेकपा माले हुँदै एमाले निर्माणमा क्रियाशील,’ दाहालले श्रद्धाञ्जली दिँदै लेखेका छन्, ‘०५१ सालको पहिलो कम्युनिस्ट नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री, रेडियो नेपालबाट पहिलोपटक संस्कृत भाषाको समाचार प्रसारण निर्णय गर्ने मन्त्री । उहाँका विषयमा मेरो पत्रकारिता कृतिमा त्यस समयको कटु र मधु स्मृति राखेको छु ।’
प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेतले पत्रकारितामा नेपालबाट धेरै कुरा सिक्न पाएको रूपमा स्मरण गरेका छन् । ‘शब्द फुरिरहेको छैन, हातका औंलाहरू कामिरहेका छन्, कमरेड प्रदीप नेपाल हामीबाट सदाका लागि बिदा हुनुभयो भन्ने सूचना पाएदेखि । पत्रकारिताका शुरूआती दिनका गुरु, अनि लेखनमा आफू पनि अब्बल अनि अरुलाई पनि अब्बल बनाउने नायक कमरेड प्रदीपबाटै हो मैले पत्रकारितामा शब्दका तिख्खरता ल्याउन सिकेको,’ बस्नेतले लेखेका छन्, ‘अनि साप्ताहिक पत्रिकाको स्थापित रहेको अन्तिम प्रश्न अर्थात् अन्तर्वार्ता लिने क्रममा आधा घण्टा प्रश्न सोधेर जवाफ पाएपछि पनि ‘अन्तिममा केही भन्नु हुन्छ कि’ भन्ने प्रश्नलाई दाहसंस्कार गरेको पनि आदरणीय गुरु प्रदीप नेपालकै कारणले हो ।’
पत्रकारिताका गुरु, राजनीति नेताका रूपमा असल पथप्रदर्शन र काम गर्न प्रेरित गर्ने कमान्डर अनि साहित्यकारका रूपमा सदाबहार हिरो भन्दै बस्नेतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपालले नवयुग, छलफल र दृष्टि पत्रिकाको सम्पादकसमेत भएर काम गरेका थिए । साहित्यका सञ्जय थापाको नामले परिचित नेपालका एक दर्जन उपन्यास प्रकाशित छन् । नेपालको ‘देउमाइको किनार’, ‘आमाका मन’, ‘एक्काइसौं शताब्दीकी सुम्निमा’, ‘देशको, खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’ चर्चित कृति हुन् । नेपालले माक्र्सवादीवादी केन्द्रको संस्थापक भएरसमेत काम गरेका थिए ।
नेपालकै इच्छाअनुसार पार्टीको झण्डा नओडाउने, श्रद्धाञ्जलीका अन्य कार्यक्रम नराखी मंगलबार नै पशुपतिस्थित शवदाह गृहमा अन्तिम संस्कार गर्ने एमालेले जनाएको छ ।