
म २०६२/०६३ को जनआन्दोलन सम्झिन्छु । माओवादी त बाहिरै थियो । आन्दोलनको बेला जननेता गिरिजाप्रसाद कोइराला पनि हुनुहुन्थ्यो । उहाँको नेतृत्वमा आन्दोलन भैरहेको थियो । आन्दोलनमा त्यति जनसहभागिता बढिरहेको थिएन । नागरिक समाजहरू पनि लागिरहनुभएको थियो ।
संसद् भवन रहेको बानेश्वर अगाडि सडकमा नागरिक समाजले कार्यक्रम राखेको थियो । जसमा गिरिजालगायत सबै नेता आउनुभयो । उहाँहरू दर्शकको रूपमा आउनुभएको थियो ।
नागरिक समाजले नेताहरू र पार्टीलाई अहिलेसम्म गरेका गल्तीहरू नदोहोर्याउनू भन्नुभयो । भ्रष्टाचार, दण्डहीनता अन्त्य र सुशासन कायम गर्ने कुरा थियो । सबै नेताहरूले प्रण गर्नुभयो कि अब हामी गलत काम गर्दैनौं । गलत गर्दैनौं भन्नुभयो ।
आजको दिनमा निराशाको कुरा नपढाइकन आशाको कुरा हुँदैन । विकास भैरहेको छ, सायद त्यो भैरहन्थ्यो होला । त्यो चिन्ता गरिरहनु पर्ने आवश्यकता थिएन । पञ्चायतकालमा पनि अलिअलि भयो । २०४७ पछि पनि केही भयो ।
म सम्झिन्छु, आफ्नो मेडिकल एजुकेसनको बेलामा करिब करिब ५० वर्ष हुँदा म मेरठमा पढ्थे । रुड्की इन्जिनियरिङ कलेजमा हाम्रा धेरै साथीहरू पढ्न जानुभयो । नजिकै थियो र भेटघाट भैरहन्थ्यो । पञ्चायत कालको कुरा हो ।
एक दिन म कलेजमा गएर तपाईंहरू कसरी आउनुभयो भनेर सोधें । कर्णालीमा हाइड्रो प्रोजेक्ट बनाउनु छ भनेर २०० नेपालीलाई विभिन्न विधामा स्कलरसिप दिएर भारतले पढ्न पठाएको रहेछ ।
आज नेपालभित्रै धेरै कलेजहरू छ । राम्रा कलेज छन् । तर, ती किन खाली हुँदैछन् ? किन बन्द हुँदैछन् ? त्यतातिरै ध्यान दिने के नदिने ? यहाँ रोजगारी दिन सकिन्छ कि सकिँदैन ?

युवाहरूले अहिले विश्व देखे । अहिले एउटा मोबाइलबाटै विश्व हेर्न सकिन्छ । उनीहरू घुमिरहेका छन् । आफ्ना साथीभाइ गएको देखेका छन् । त्यहाँको विकास यहाँ पनि सोचिरहेका छन् ।
तर, आज जनता निराश छन् । किनभन्दा हामी दलहरू, सरकार र म आफैंलाई पनि दोषी भन्छु ।
हामीले सुशासन दिन सकिरहेका छैनौं । जनताले खोजेको यत्ति मात्रै हो । जनताले सुशासन देऊ भनेको छ । भ्रष्टाचार निर्मूल गर, दण्डहीनता अन्त्य गर र रोजगारी सिर्जना गर भनेको छ । युवा पढे/लेखेको छ तर, रोजगारी छैन । देशमा अवसर छैन । दण्डहीनता बढेको छ । यी सब कारणले गर्दा अप्ठेरै परिस्थिति सिर्जना भएको हो ।
देशको आर्थिक अवस्था संकटमा छ भनेर अर्थमन्त्रीजीले पनि भन्नुभयो । किन यस्तो भैरहेको छ ? कहाँ हामी चुक्यौं ? त्यतातिर पनि ध्यान दिन पर्ने छ ।
म त विराटनगरको बासिन्दा हु । आज विराटनगरका ३० देखि ३५ प्रतिशत सटर बन्द छन् । किन बन्द भएका छन् ? अर्थमन्त्रीले जवाफ दिनुपर्यो नि !
हामी कहाँ चुकेका छौं ? किन युवालाई आकर्षित गर्न सकेका छैनौं ? युवाहरूको निराशा पनलाई व्यवस्थापन गर्न सकेका छैनौं ?
त्यो म्यानेज गर्न सक्ने हो भने गर्न सक्ने धेरै कुरा छन् । सक्छौं भन्ने आँट गरौं । सकिन्छ ।
अब बजेट पनि आउँदै छ । अर्थमन्त्रीजीले एकदमै टाइट गरी बजेट दिनुहुनेछ भन्ने विश्वास छ । एकदम छरेर होइन कि भोलि देश कता जाने भन्ने कुरा बजेटले धेरै कुरा निर्धारण गर्छ भन्ने कुरा लाग्छ ।
अर्थमन्त्रीले राजनीतिक अस्थिरताको कुरा गर्नुभयो । जनता निराश हुने कुरा यो पनि हो । किनभने यसले सधैं सरकार के हुन्छ भन्ने मानिसको मनमा परिरहेको छ । राजनीतिक स्थिरता किन भयो भने निर्वाचन प्रणाली नै यस्तो छ । कुनै पनि दलको बहुमत आउँदैन । या त संविधान संशोधन गर्नुपर्यो या र यही संविधानमा यसरी मिलेन जानुपर्यो भन्ने कुरा गर्नुपर्ने देखेको छु ।
तपाईं प्रधानमन्त्री बनेको भए के गर्नुहुन्थ्यो भन्ने प्रश्न हाइपोथेटिकल भयो । तर, सुशासनको कुरा मुख्य हो । दण्डहीनता र भ्रष्टाचार अन्त्य गरेर रोजगारीको अवसर सिर्जना गर्ने कुरा हो ।
निजी क्षेत्रलाई काम गर्ने वातावरण दिनुपर्यो । ऐन नियम कानून बनाउन पर्ने होला । अर्थमन्त्रीजीलाई मेरो अनुरोध के छ भने आर्थिक सुधार आयोगले दिएको रिपोर्टअनुसार हटाउन भनेका संस्थालाई हटाइ दिनुस् ।
हामीसित क्षमता छ । धेरै कुरामा हामीले हात हाल्ने होइन । हामीसँग हरित ऊर्जाको ठूलो स्रोत छ । यिनीहरूलाई प्रचूर मात्रामा ल्याउन सक्नुपर्यो । कृषिमा काम गरौं । तेस्रो कुरा केही महिना पहिले भारतमा महाकुम्भमा खर्बौं रुपैयाँको कारोबार भएको छ । के नेपालमा त्यो सकिँदैन ? देवघाट छ, बराहक्षेत्र छ । ती कुरालाई ध्यान दिनुपर्यो । धार्मिक र साहसिक पर्यटक भित्र्याउने प्रयास गर्नुपर्छ ।
अब डिजिटलाइजेसनलाई कसरी कृषकसम्म वा तल्लो लेबलसम्म लैजाने ? उनीहरूलाई कसरी स्किल पार्ने ? आइटीका कुराहरू छन् । आइटी धेरै पढेलेखेकाले मात्रै गर्ने हो र ? तल्लो लेबलमा पनि यसले उत्पादन बढाउन सकिन्छ । पुर्याउनुपर्यो । यति कुरा ध्यान दियौं भने नेपाललाई स्विट्जरल्याण्ड होइन नेपाललाई नेपाल नै बनाउन सक्छौं, सकिन्छ ।
सुशासनको क्षेत्रमा लोकान्तरले जुन काम गरिरहेको छ त्यो सह्रानीय छ । नौ वर्ष पूरा गरेर दशौं वर्ष प्रवेश गरेकोमा लोकान्तर डटकमलाई शुभकामना । अझै उन्नती र प्रगति हुँदै जाओस् ।
(लोकान्तर डट्कमको नवौं वार्षिकोत्वसको अवसरमा आयोजित 'आशा र उन्नति' शीर्षकमा कार्यकारी सम्पादक सुशील पन्तसँग भएको बहसमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यक्त गरेको विचारको सम्पादित अंश ।)
यो पनि
‘अर्थतन्त्रका समस्याको दिगो समाधान गर्नेगरी एउटा माइलस्टोनको रूपमा बजेट आउँछ’
‘देशमा निराशा फैलाउने मानिस मात्र होइन, पेड मशिनहरू पनि छन्, आत्तिनुपर्ने छैन’