
सुनसरी, (इटहरी), १६ मंसिर– इटहारी उपमहानगरपालिकाको वडा नन्बर ८ । मोरङसँगको सीमा छुट्टाउने गरी बगेको बुढी खोलाको छेउमै छ मल्लिक टोल । ८० परिवारजति मल्लीक जाति बस्ने भएकाले टोलको नाम नै मल्लिक टोल राखिएको छ ।
यहाँ रहेका सबै मल्लिक परिवारको साझा पेसा हो, सफाइ गर्नु । इटहरी बजारमा सञ्चालित बैंक, वित्तीय संस्था, निजी कार्यालय तथा विद्यालयमा सरसफाइको काम गर्ने अधिकांश मल्लिक नै भेटिन्छन् ।
उमेरले ६० पुग्न लागेकी मञ्जु मल्लिकले देशमा भएका सबै राजनीतिक परिवर्तन देखेकी छन् । तर उनको जीवनमा भने कुनै परिवर्तन आएको छैन । बुढीखोला किनारमा रहेको उनको छाप्रो हरेक वर्षको बाढीमा डुब्छ ।
हरेक पटकको चुनावमा नेताहरुले चिटिक्कको घर बनाइदिने आश्वासन नदिएका हैनन् । तर दुई छाक टार्न बुढेशकालमा पनि सरसफाइको काम गर्नुपर्ने बाध्यता समेत हेटेको छैन उनको ।
यो त्यही क्षेत्र हो, जहाँ विगत २६ वर्षदेखि अहिलेका उपप्रधानमन्त्री विजय गच्छदारले एकल वर्चश्व जमाएका छन् । २६ वर्षयता भएका हरेक चुनावमा गच्छदारले बाजी मारेका छन् । तर उनलाई मत दिएर जिताउनेको अवस्था भने जहाँको तहीँ छ ।
यो ठाउँ सुनसरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्छ । सुनसरी ३ मा यो पटक पनि विजय गच्छदार चुनावी मैदानमा छन्, नेपाली कांग्रेसको तर्फबाट । वाम गठवन्धनको तर्फबाट एमाले नेतृ भगवती चौधरी उम्मेदवार छिन् ।
‘यो पटक चाहिँ कसलाई भोट हाल्नुहुन्छ त ?’
‘आ... कसलाई हालेर के हुने हो र ? सबैले कुरा मात्रै गर्ने त हुन् !’ छेउमै उभिएकी मञ्जुकी बुहारी कल्पना बोलिन् ।
‘
विजय गच्छदार भोट माग्न आउनुभएको छैन र ?’
‘कहाँ आउनु, नाक–मुख पनि देखाएका छैनन् । उसका चम्चाहरु आउँछन् । भोट दिनु भनेर हैरान बनाउँछन्,’ कल्पनाले आक्रोश पोखिन् ।
गच्छदारले केही गरेनन्
विगत २६ वर्षयता भएका हरेक चुनावमा यो क्षेत्रबाट कांग्रेस नेता गच्छदारले चुनाव जित्दै आएका छन् । चुनाव जितेर गएपछि गच्छदार हरेक पटक सरकारमा पनि गएका छन् । गच्छदारले सबैभन्दा बढीपटक मन्त्री हुने व्यक्तिको रेकर्ड नै बनाइसकेका छन् । तर उनले आफ्नो निर्वाचन क्षेत्रमा देखिने खालको कुनै पनि काम नगरेको स्थानीय मतदाताको गुनासो छ ।
‘उहाँले गरेको एउटा काम पनि देखिँदैन । यहाँ उद्योगबाट आउने प्रदुषणले बालीमा नोक्सानी पुगेको छ । सडकको हालत पनि धेरै नराम्रो छ,’ दुहवी नगरपालिका–६ शिवशंकर चौधरीले भने, ‘उहाँले आफ्नै समुदायका लागि पनि केही गर्नुभएको छैन । यो पटक हामीले उहाँलाई मतदान नगर्ने सोच बनाएका छौं ।’
दुहवी बजारमा पुग्दा शिवशंकरजस्तै गच्छदारप्रति धेरै मतदाताको गुनासो थिए । गच्छदारले आश्वासन मात्रै दिएको काम केही पनि नगरेको सबैले साझा गुनासो गरे ।
गच्छदारको आलोचना गरेर मत माग्दै भगवती
वाम गठवन्धनकी उम्मेदवार भगवती चौधरी महिला उद्यमशीलतामा सक्रिय व्यक्ति हुन् । विगत २० वर्षदेखि उनी लघुविक्त कार्यक्रममा सक्रिय छिन् । उनले करिव २ हजार महिलालाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आर्थिक रुपमा सशक्त बनाएको वाम गठवन्धनका कार्यकर्ता बताउँछन् ।
भगवतीले आफ्नो जितको आधार नै आफूले २० वर्षदेखि सञ्चालन गरेको लघु उद्यमलाई बनाएकी छन् । ‘गच्छदारले २६ वर्षदेखि सरकारमा बसेर पनि केही नगरेको आफूले गाउँस्तरमै भए पनि धेरै गरेको’ भन्दै भगवतीले मत मागीरहेकी छन् ।
गाउँ गाउँमा मत माग्न जाँदा भगवतीले प्राय गच्छदारको आलोचना गर्ने गर्छिन् । महिलालाई आर्थिक रुपमा बलियो बनाउने गरी कार्यक्रम गर्ने तथा पूर्वाधार विकास र घर–जग्गाविहीनहरुका लागि विशेष कार्यक्रम ल्याउने भगवतीको आश्वासन छ ।
पहाडी समुदायको मत निर्णायक
यसअघिका चुनावमा गच्छदारको जितको आधार यहाँको थारु र मधेसी समुदाय थियो । किनकी थारु समुदायबाट सबै मत गच्छदारलाई जान्थ्यो । मधेसी समूदायबाट पनि आधिकांश मत गच्छदारले पाउँथे ।
मधेसी र थारु समुदायको निर्णायक बाहुल्यता रहेको यो क्षेत्रमा यस पटक भने दुवै गठवन्धनका उम्मेदवार थारु समुदायकै छन् । जसकारण यो पटक थारु र मधेसी समुदायबाट भोट बाँडिने संभावना छ ।
कडा प्रतिस्पर्धामा रहेका दुवै थारु समुदायका उम्मेदवारलाई जितका लागि भने पहाडी समुदायको मतको आवश्यकता पर्नेछ । त्यसैले यसपटकको चुनावमा सुनसरी क्षेत्र नम्बर ३ मा पहाडी समुदायको मत निर्णाक हुने देखिन्छ ।