
भारत सरकारले नेपालको ‘सगरमाथा सम्वाद’ कार्यक्रमलाई सहज बनाउन सहयोग स्वरूप नेपाल सरकारलाई १५ वटा विद्युतीय सवारी प्रदान गरेको छ।
भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार एक समारोहका बीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई ती सवारी साधन हस्तान्तरण गरे। ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित ‘सगरमाथा सम्वाद’ को पहिलो संस्करण यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। उक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न भारतले यी सवारी साधनहरू उपलब्ध गराएको हो।
राजदूत श्रीवास्तवले समारोहमा बोल्दै यस सहयोगले सम्वादका सहभागी तथा अतिथिहरूको आवागमनलाई सहज बनाउने विश्वास व्यक्त गरे। साथै, उनले सन् २०२२ मा नेपालमा सम्पन्न संघीय तथा प्रदेशसभा निर्वाचनका क्रममा भारतले गरेको यस्तै लजिस्टिक सहयोगको स्मरण गर्दै नेपालको विकास यात्रा र लोकतान्त्रिक प्रक्रियामा भारतको प्रतिबद्धता दोहोर्याए।
परराष्ट्रमन्त्री डा. देउवाले भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै भारतलाई नेपालको सबैभन्दा पुरानो र महत्वपूर्ण विकास साझेदारमध्ये एकको रूपमा स्वीकार गरिन्। उनले सम्वादजस्ता अन्तर्राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन भारतको योगदान सराहनीय रहेको बताइन्।