
अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली चलचित्रका चर्चित कलाकार उषा पौडेल र राहुल केसी विवाह बन्धनमा बाँधिएका छन्। अमेरिकी समय अनुसार मे ११ आइतवार, उनीहरूले बाल्टिमोरको नेपाली हिन्दू-बौद्ध मन्दिरमा पूर्ण हिन्दू परम्पराअनुसार विवाह गरेका हुन्।
विवाह समारोहमा दुवै परिवार, आफन्त तथा अमेरिका र नेपालका कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विवाहपछि साँझ नवदम्पतीले स्वागत भोजको आयोजना गरेका थिए।
उषा पौडेलले २००१ मा चलचित्र "कर्म" बाट अभिनय यात्रा सुरु गरेकी हुन् भने "मुनामदन" बाट विशेष चर्चा पाएकी थिइन्। उनले ३० भन्दा बढी चलचित्र, थुप्रै टेलिभिजन धारावाहिक, म्युजिक भिडियो तथा विज्ञापनहरूमा अभिनय गरेकी छन्।
अर्कोतर्फ, अभिनेता राहुल केसीले "नागरिक" र "किसान" चलचित्रमा अभिनय गरेका छन्। उनी अमेरिका बसोबास गर्दै आएका कलाकारहरूको संस्था इनास अमेरिकाका अध्यक्ष समेत हुन्।
यो दुवै कलाकारको दोस्रो विवाह हो। उनीहरूले दुई हप्ता अघि नै कानुनी रूपमा विवाह गरिसकेका थिए।