
काठमाडौँ, १७ मङ्सिर- निर्वाचन आयोगले शृंखलाबद्ध बम विस्फोटको घटनालाई प्रमुख चुनौतीका रूपमा लिएको छ । उदयपुरका प्रतिनिधिसभा उम्मेदवार घाइते, दाङमा म्यादी प्रहरीको मृत्यु, राजधानी काठमाडौंमै शृंखलाबद्ध बम विस्फोटपछि आयोगले अलि बढी नै ‘सुरक्षा थ्रेट’ महसुस गरेको हो । दिनहुँ विस्फोटका घटना बढेपछि आयोगले मतदातालाई सुरक्षित रहेको महसुस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ, नयाँ पत्रिकामा खबर छ ।
विस्फोटका शृंखला
१५ मंसिर : बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवानिवासको कम्पाउन्डमै बम विस्फोट।
१४ मंसिर : गुल्मी रेसुंगा–८ का वडासदस्य तारा श्रीस ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलो बारुदलगायत अवैध विस्फोटक पदार्थसहित पक्राउ ।
१३ मंसिर : उदयपुरको दनुवारबेसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस
उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।
१२ मंसिर : उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी विस्फोट ।
१२ मंसिर : झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा विस्फोट ।
१२ मंसिर : दाङको तुल्सीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । विस्फोटमा सात घाइते ।
२ मंसिर : रौतहटको चन्द्रपुर नगरपालिकामा वाम गठबन्धनको सभामा विस्फोट, आठ घाइते ।
२ मंसिर : तनहुँमा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।
२ मंसिर : भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । विस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।
१ मंसिर : नुवाकोटको काउलेथानामा बम विस्फोट हुँदा पाँच कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी क्षतिग्रस्त ।
३० कात्तिक : रोल्पाको घोडागाउँमा कांग्रेस उम्मेदवारलाई लक्षित गरी सुतली बम प्रहार ।