
राष्ट्रिय गौरवका २७ आयोजनामध्ये भौतिक प्रगति नै नखुलेका ८ वटा आयोजना रहेको खुलेको छ ।
बुधबार सार्वजनिक गरिएको महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजनामध्ये ८ वटा आयोजनाको भौतिक प्रगति नै नखुलेको देखाएको हो ।
प्रतिवेदन अनुसार गौरवका आयोजनामध्ये दुई वटा आयोजनाको काम सम्पन्न भएको छ । त्यस्तै, ३ आयोजनाले मात्रै समष्टिगत भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ सम्म ६ वटा आयोजनाले ५० देखि ८० प्रतिशत भौतिक प्रगति गरेका छन् भने ६ आयोजनाले ५० प्रतिशतभन्दा न्यून प्रगति हासिल गरेका छन् । त्यसैगरी ८ आयोजनाको भौतिक प्रगति नखुलेको उल्लेख गरिएको छ ।
काम नै शुरू नभएका २ वटा अयोजना रहेका छन् । आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति ८८ प्रतिशत भएतापनि सम्पन्न हुने अवधि तोकेको छैन ।
त्यस्तै, रानी जमरा कुलरिया, सुनकोशी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, काठमाडौं-तराई मधेश द्रुतमार्ग, लुम्बिनी क्षेत्र विकास कोषसहित ५ आयोजना २०८०/८१ मा निर्माण सम्पन्न हुनुपर्नेमा सम्पन्न नभई म्याद थप भएको छ ।

