
काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माण आयोजना शुरू नहुँदै १५ करोड ४३ लाख रुपैयाँ प्रशासनिक काममै खर्च भएको पाइको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनअनुसार २० वर्षमा प्रशासनिक काममा मात्रै १५ करोड ४३ लाख रुपैयाँ खर्च भएको हो ।
काठमाडौं उपत्यकाको तीन जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित शहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गर्ने उद्देश्यले २०५८ मा बाहिरी चक्रपथको अवधारणा ल्याइएको थियो ।
उक्त कार्यका लागि २०६०/६१ मा प्रति आना ५ लाख रूपैयाँका दरले ५० मिटर फराकिलो ७१.९६ किलोमिटर सडक निर्माणको लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो ।
‘हालसम्म आयोजना शुरू भएको देखिँदैन । आयोजनाको प्रशासनिक कार्यमा हालसम्म १५ करोड ४३ लाख ४६ हजार रूपैयाँ खर्च भएको छ । आयोजना कार्यान्वयन सम्बन्धमा शहरी विकास मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनुपर्दछ,’ महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ ।