०५ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीले टोलटोलमा विपद् सूचक राख्ने, सबै युनिटमा उद्धार सामग्री

बैशाख ३१, २०८२
काठमाडौं
सशस्त्र प्रहरीले टोलटोलमा विपद् सूचक राख्ने, सबै युनिटमा उद्धार सामग्री
फाइल तस्वीर ।

सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्धारका लागि आफ्नो तयारी थालेको छ । 

यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल शुरू गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास सञ्चालन गर्ने लगायतका रहेका छन् ।

अघिल्ला वर्षमा भएको विपद्का घटनालाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनिकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो । 

उपत्यकाका सबै युनिट कमान्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ । 

विपद् सूचक अन्तर्गत आफ्ना पूर्वकर्मचारी समेत यसमा सहभागी गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ । 

यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटो भन्दा छिटो उद्धार कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ । यसकासाथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रूपमा १५ दिनको विपद् व्यवस्थापन तालिम सञ्चालन गर्ने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ ।

सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न, कम भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिनेछ ।  

छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनको लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको भन्दै विपद्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आम जनतामा भरोसा हुनुपर्ने बताए ।

उनले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्