
काठमाडौं कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको स्रस्तेदार तीर्थराज भट्टराई लोकान्तरलाई जानकारी दिए ।
बुधबार भएको बयान र थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्न आदेश भएको भट्टराईले बताए ।
सांसद राई उक्त सहकारीको सञ्चालक समितिमा रहेको अवधिमा करिब साढे २ करोड रूपैयाँ अपचलन भएको अनुसन्धानबाट खुलेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार जिल्ला अदालतमा पूरक मुद्दा दायर गरेको थियो ।
राई आर्थिक वर्ष २०७३/७४ मा स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सदस्य र आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा सहसचिवको जिम्मेवारीमा रहेको अनुसन्धबाट खुलेको छ ।
यही सहकारी रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला अदालतले ६० लाख रूपैयाँ धरौटी मागेको थियो ।