
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागितालाई थप सुदृढ गर्नेगरी आगामी बजेट आउने बताएका छन् ।
हिजो गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५ लाई सम्बोधन गर्दै आज उनले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण बनाउन आएका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
'नेपालको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सहभागिता रहनेगरी आगामी बजेट आउँछ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्वपूर्ण साझेदारीका रूपमा हेरेको छ,' उनले भने ।
उनले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउँदै नेपालको आर्थिक विकास र समृद्धिमा गैरआवासीय नेपालीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । मन्त्री भण्डारीले लगानीका लागि आवश्यक सुधार गर्न मन्त्रालय र मातहतका विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, संस्थानहरूको समग्र सेवा प्रवाह, अनुमतिलगायतका प्रक्रिया सहजीकरण र सरलीकरणमा विशेष जोड दिई नीतिगत सुधारमा ठोस पहल भएको उनको भनाइ थियो ।
आर्थिक वर्ष २०८१/८२ को प्रथम आठ महिनामा उद्योग विभागमा ४३८ नयाँ उद्योग दर्ता भई एक खर्ब ७१ अर्ब ३६ करोडको लगानी स्वीकृत भएको, उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको उनले जानकारी दिए ।