०६ असार २०८३, शनिबार
टेरामक्स भ्रष्टाचार प्रकरण

पूर्वमन्त्री बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै सवा ३ अर्ब बिगो

जेठ १, २०८२
काठमाडौं
पूर्वमन्त्री बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा, झण्डै सवा ३ अर्ब बिगो

नेपाली कांग्रेस नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटाला प्रकरणमा उनीसहित १६ जना र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बस्नेतसहितका प्रतिवादीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरेको अख्तियारले जनाएको छ । 

बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

२०७४ सालको प्रतिनिधि सभा चुनावअघि सञ्चारमन्त्री रहेको समयमा बस्नेतले टेरामक्स खरिदको निर्णय गरेका थिए । २०७९ सालको चुनावमा सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

बस्नेतका अलावा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र अर्का तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाललाई पनि समान बिगो कायम गरिएको छ ।

यस्तै, प्राधिकरणका सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई पनि संयुक्त रूपमा माथि उल्लेखित बिगो नै तोकिएको छ ।

यसका अलावा प्राधिकरणका निर्देशकहरू विजयकुमार राय, रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्रलाई पनि संयुक्त रूपमा ३ अर्ब २१ करोडभन्दा बढी बिगो तोकिएको छ ।

यसैगरी प्राधिकरणका निर्देशकहरू सुरेन्द्रलाल हाडा र दीपेश आचार्य तथा उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यसका अलावा परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन र सोका मुख्य व्यक्ति जमाल अनोति तथा उक्त कम्पनीको लोकल एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालि, काठमाडौंका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणालीका लागि उपकरण, त्यसमा जडान हुने सफ्टवेयर खरिदका लागि पहिलो चरणमा २०७४ आसोज २० गते टेन्डर आह्वान गरेको थियो । पाँच वर्षसम्म उक्त प्रविधि सञ्चालन गर्नुपर्ने शर्तसमेत राखिएको थियो ।

शुरूमा १६ वटा कम्पनीले प्रस्ताव पेश गरेपनि १२ वटा कम्पनीलाई प्राविधिकरूपमै अयोग्य घोषित गरिएको थियो ।  त्यसपछि ४ वटा कम्पनीबीच प्रतिस्पर्धा गराइएकोमा सार्वजनिक खरिद ऐन र नियमवालीको प्रावधानअनुसार सबैभन्दा कम रकम प्रस्ताव गर्नेलाई छनोट नगरी बढी रकम प्रस्ताव गर्नेलाई छनोट  गरिएको थियो ।

लेबनानको भेनराइजले २३.७७ मिलियन अमेरिकन डलर,  स्विट्जरल्यान्डको  एसजीएसले २४.२३ मिलियन अमेरिकन डलर, हङकङको एन सफ्टले २२.०९ मिलियन अमेरिकन डलर र क्यानाडाको टीकेसीले ११.५  मिलियन अमेरिकन डलर प्रस्ताव गरेको थियो ।

नागरिकको फोन कल 'ट्यापिङ'का लागि टेरामक्स प्रविधि खरिद गरिएको हो । 

यो पनि पढ्नुहोस

 

salt training

कमेन्ट गर्नुहोस्