०२ असार २०८३, मंगलबार

मेनुमा लुकेको हुन्छ खानाको स्वाद !

मंसिर १७, २०७४
मेनुमा लुकेको हुन्छ खानाको स्वाद !

काठमाडौं, १७ मंसिर — मम, चाउमिन, पिज्जा, बर्गर । तपाईंले यी सामान्य खानेकुराको नाम रेस्टुराँ र होटलको मेनु कार्डमा देख्नुभएको होला । ध्यान दिनुभएको छ भने कुनै कुनै व्यन्जनको नाम कलात्मक अक्षरले लेखेको देख्नुभएको होला । 

कुनै खानेकुरा मोटा अक्षरमा लेखिएका हुन्छन् । कुनै विशेष परिकार तपाईंले नाम देख्नेबित्तिकै अर्डर गर्नुहुन्छ । कुनै खानेकुराको लामो नाम देखेर तपाईं के हो भनेर दिमाग लगाउन थाल्नुहुन्छ । 

यो खासमा तपाईंलाई लोभ्याउनका लागि गरिएको ट्रिक हो । रेस्टुराँको मेनु कार्ड बनाउनु र खानेकुराको नाम निर्धारण गर्नुमा एक विज्ञान लुकेको छ । यसमा राम्रै अनुसन्धान गरिएको हुन्छ । यसभित्र अनेक रहस्य हुन्छन् । 
अक्सफोर्ड विश्वविद्यालयमा मनोविज्ञान पढाउने चार्ल्स स्पेन्सका अनुसार, मेनु कार्डको कभर पनि ग्राहकहरूलाई लोभ्याउने गरी तयार पारिएको हुन्छ । 

अनेकौं ससाना कुराहरूको माध्यमले ग्राहकहरू कुनै विशेष परिकार मगाउनका लागि प्रोत्साहित हुन् भन्ने उद्देश्य होटलको हुन्छ । ती संकेतहरू तपाईंले थाहा पाउनुहुन्न । तर मेनु कार्डमा यिनको बारेमा अनुसन्धान गरिएको हुन्छ । 
कतिपय अवसरमा त मेनु कार्डमा शब्दहरूको फन्ट परिवर्तन गरेर तिनीहरूलाई थप आकर्षक बनाइएको हुन्छ । कहिलेकाहीँ खानेकुराको नाम मेनु कार्डमा अर्कै ठाउँमा राखेर नयाँ तरिकाले पेश पनि गरिन्छ । 

मेनु कार्डमा यस परिवर्तनलाई मेनु इन्जिनियरिङ भनिन्छ । अमेरिकाको पाम स्प्रिंग्स इलाकामा मेनु इन्जिनियरिङको काम गर्ने ग्रेग –यापका अनुसार, ठूलो रेस्टुराँ चेनमा दिनदिनै हजारौं मानिस आउँछन् । यस्ता रेस्टुराँमा मेनु कार्ड तयार पार्न लगभग १८ महिना लाग्छ । 

उनी भन्छन्, ‘ग्राहक केही मिनेट मेनु हेर्छन् । त्यसैले उनीहरूको ध्यान खिच्नु चुनौतीपूर्ण हुन्छ । हतारमा भएका ग्राहकका लागि हामी मेनु कार्ड यस्तो तरिकाले बनाउँछौं कि उनीहरूले केही मिनेटमै मन परेको खानेकुरा भेटून् ।’

ग्राहकले हेर्ने भनेको मेनु कार्ड कत्तिको मोटो छ भन्ने हो । मोटो र शानदार कार्ड भयो भने ग्राहकलाई आफू कुनै ठूलो रेस्टुराँमा छु भन्ने अनुभव हुन्छ । यहाँ पक्कै मीठो खान पाइन्छ भन्ने उसलाई लाग्छ । 

त्यसैगरी मेनु कार्डमा शब्दहरूको फन्ट पनि महत्त्वपूर्ण हुन्छ । इटालिक पारेर लेखिएको शब्दले कुनै पनि खानेकुराको गुणस्तरको विश्वास दिलाउँछन् । अलि नबुझिने फन्ट छ भने खानेकुराको स्वादको आशा जाग्छ । 

स्विट्जरल्यान्डमा भएको एक अनुसन्धानमा पत्ता लागेअनुसार, जुन वाइनको नाम पढ्न गाह्रो हुन्छ त्यसलाई ग्राहकहरूले बढी मन पराउँछन् । सजिलै बुझिने शब्दमा खानेकुराको नाम लेख्दा ग्राहकले खासै ध्यान दिँदैनन् । 

गोलो गोलो अक्षरले लेखिएको शब्दबाट मीठो भोजनको अनुभव हुन्छ । अलिक बांगो खालको फन्ट छ भने नूनिलो वा पीरो होला जस्तो लाग्छ ग्राहकलाई । 

खानेकुराको नाम घुमाएर लेख्नु पनि ग्राहक लोभ्याउने एक तरिका हो । सामान्य चकलेटलाई पनि ‘यो बेल्जियम चकलेट हो, यो भित्र पग्लिएको छ अनि माथिबाट कडा छ’ भन्यो भने ग्राहकले लिन सक्छ । 

यसैगरी केही कुराको नाम परिवर्तन गरिदिँदा मानिसहरू फस्छन् । नाम बदलिएर राखिएका खानेकुराको बिक्री २० देखि ३० प्रतिशतसम्म बढ्छ । यसैगरी सामान्य खानेकुरालाई अर्कै रूपमा पेश गरेर त्यसको मूल्य चर्को बनाउने काम पनि रेस्टुराँहरूले गर्छन्  ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्