बिहीबार मध्याह्न धनकुटामा लत्रिएको विद्युत्को तारबाट करेन्ट लागेर एक किसानको मृत्यु भयो । धनकुटा नगरपालिका–८ शिववेशीका ६८ वर्षीय मंगलसिंह राईको आफ्नै खेतमा काम गरिरहेका बेला दिउँसै विद्युत्को लत्रिएको तार छुँदा मृत्यु भएको हो । घाँस काट्दै गर्दा तारमा छोइएपछि उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । ‘भुइँको घाँस काट्दै हुनुहुँदो रहेछ। त्यही क्रममा लत्रिएको तारमा घाँसले छोएको हामीले अनुमान गरेका छौं,’ उनले भने ।
तार कहिलेदेखि लत्रिएको थियो भन्ने विषयमा भने विद्युत् प्राधिकरणलाई समेत जानकारी नभएको उनले बताए । घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब १५ किलोमिटर पूर्वमा पर्छ । घट्ना भएको स्थान एकान्त भएका कारण तार लत्रेको विषयमा कसैले खबर नगरेको प्राधिकारणले जवाफ दिएको उनले बताए ।
कोशी प्रदेशमा पछिल्लो २४ दिनको अवधिमा जमिनमा लत्रिएको विद्युत्को तारका कारण पाँच जनाको मृत्यु भएको छ ।
यसअघि २४ दिन पहिले ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको थियो । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप फुङलिङ नगरपालिका–१० को सेवारो चोक नजिकै बिजुलीको पोलबाट लत्रिएको तारमा छुँदा आगलागी भएको थियो ।
उक्त घटनामा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र झापाकै ७० वर्षीय विनोद पौडेलको मृत्यु भएको थियो । ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका थिए । मृतक आध्या सविनाकी छोरी तथा सरिता र विनोद पौडेल सविनाका आमाबुबा हुन् ।
पाथीभरा दर्शनका लागि गएका उनीहरू ताप्लेजुङको सदरमुकाम फुङलिङमा बैशाक ७ गते पुगेका थिए । भोलिपल्ट बिहान ३ः३० बजे पाथीभरा दर्शनका लागि निस्किएका थिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ताप्लेजुङको घटनाको छानबिन गर्न विद्युत विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्य छन् ।
समितिले स्थलगत अनुगमन गरे पनि प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरेको छैन । समितिले केहिदिन अगाडि स्थलगत अध्यन गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहयाक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् ।
स्थानीयहरूले विद्युत् प्राधिकरणको लापरवाहीका कारण यी घटना भएको आरोप लगाएका छन् । तर, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले प्राधिकरणको कमजोरी नभएको दाबी गरेका छन् । ‘तार लत्रेको थाहा भएसम्म हामी तुरुन्तै मर्मत गर्छाैं । हामीले पेट्रोलिङ गर्न पनि निर्देशन दिएका छौं । हामीलाई स्थानीयको पनि साथको खाँचो छ,’ उनले भने ।
उनले हावाहुरीको सिजनमा विशेष सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । विद्युत दुर्घटनाबाट बच्न सर्वसाधारणलाई सचेत रहन र लत्रिएको तार देख्नासाथ तुरुन्त सम्बन्धित निकायमा खबर गर्न उनले अनुरोध गरेका छन् ।
यस्ता दुर्घटना रोक्न नियमित मर्मत सम्भार, सुरक्षा मापदण्डको कडाइका साथ पालना र जनचेतना अभिवृद्धि गर्न स्थानीय अगुवाले नेपाल विधुत् प्राधिकरणलाई आग्रह गरेका छन् ।