
काठमाडौं, १७ मंसिर — अस्ट्रेलियामा एक मलेसियाली महिलाले बैंकको गडबडीका कारण ४८ करोड रुपैयाँ पाइन् ।
बाईस वर्षीया क्रिस्टिन लीले यो रकमको धेरैजसो भाग गरगहना र ह्यान्डब्याग किन्नमा खर्च गरिन् ।
वेस्टप्याक बैंकको गल्तीले यति ठूलो रकम उनलाई प्राप्त भएको थियो । सन् २०१४ मा निकालिएको यो रकमलाई प्रहरीले ठगी मानेको थियो ।
तर अस्ट्रेलियाको अभियोजन पक्षले महिलाविरुद्धको आरोप फिर्ता लिएको छ । आरोप फिर्ता लिनका लागि अभियोजन पक्षले कुनै कारण दिएन ।
लीका वकिल ह्युगो एस्टनले अभियोजन पक्षको यस कदमबाट राहत प्राप्त भएको बताए ।
ली आफ्नो परिवारका साथ मलेसिया फर्किएको र खुशी भएको उनले बताए ।
एसटनले भने, ‘किनिएका धेरै कुराहरू बरामद गरिएर फर्काइएको छ ।’
सिड्नी विश्वविद्यालयकी पूर्व छात्राले सन् २०१२ मा बैंक अकाउन्ट खोलेकी थिइन् र गल्तीले उनको अकाउन्टमा असीमित ओभरड्राफ्टको सुविधा दिइयो ।
सन् २०१५ मा बैंकले गल्ती थाहा पायो तर त्यतिखेरसम्म लीले ११ महिनाको अवधिमा यति धेरै रकम निकालिन् ।
लीलाई सन् २०१६ मा सिड्नी विमानस्थलमा पक्राउ गरियो र उनीमाथि ठगीको मुद्दा लगाइयो ।
उनका वकिलले सिड्नीको अदालतमा बताएअनुसार, लीले इमान्दारिता नदेखाएको भएपनि उनले ठगी भने नगरेको र यो बैंकको गल्ती भएको जिकिर गरे ।
पाँच वर्ष अस्ट्रेलियामा बसेकी केमिकल इन्जिनियरिङकी विद्यार्थी लीलाई दिवालिया घोषित गरिएको थियो ।
वेस्टप्याकका एक प्रवक्ताका अनुसार, बैंकले पैसा फिर्ता लिनका लागि हरसम्भव कदम उठाएको छ ।
सिड्नी मर्निङ हेराल्डका अनुसार, गत वर्ष एक मजिस्ट्रेटले अभियोजकलाई यो खर्च गैरकानूनी हुन नसक्ने बताएका थिए ।
मजिस्ट्रेट लिसा स्ट्यापलटनले भनिन्, ‘यो अपराधको कमाइ होइन । यति धेरै रकम पाउनु हामी सबैको सपना हो ।’
बीबीसीबाट