
भारतको ढल्केबर प्रसारण लाइनमा समस्या आउँदा बिहीबार साँझ करिब एकघण्टा विद्युत आपूर्तिमा समस्या आएको नेपाल विद्युत प्राधिकरणले स्पष्ट पारेको छ । भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा विद्युत् प्रणाली अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले लोकान्तरलाई जानकारी दिए ।
बिहीबार साँझ एकै पटक देशका धेरै ठाउँमा विद्युत आपूर्ति अवरुद्ध भएको थियो । विद्युत आपूर्ति अवरुद्ध भएपछि केही सर्वसाधारणले सामाजिक सञ्जालमा प्राधिकरणविरुद्ध आक्रोशसमेत पोखेका थिए ।
तर, वास्तविकता भने त्यस्तो नरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कारण नभई ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा विद्युत् प्रणाली अवरुद्ध भएको शिल्पकारले बताए ।
भारतबाट समस्या भएर सिस्टम गएपछि नेपालका पावर हाउसहरूमा पनि बत्ती गएको उनको भनाइ छ । भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर-मुजफ्फरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटक-पटक विद्युत् अवरुद्ध हुने गरेको छ ।
विद्युत आपूर्तिमा समस्या आएपछि राति नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका थिए । विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर ग्रीड महाशाखाका प्रमुखलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिएको प्राधिकरणले जनाएको छ ।
यसैगरी, प्राधिकरणका उत्पादन उपकार्यकारी निर्देशक मदन तिम्सिनाले पनि ढल्केवर ४०० सय केबी प्रसारण लाइनमा आएको समस्याले एक घन्टाजति आपूर्ति अवरुद्ध भएको बताए । विद्युत आपूर्ति अवरुद्ध भएपछि कार्यकारी निर्देशक शाक्य आफैं अबेर रातिसम्म लोड व्यवस्थापन केन्द्र (एलडीसी)मै रहेको उनले बताए ।
तर, मानिसहरूले अनावश्यकरूपमा आलोचना गरेको उनको भनाइ छ । 'हितेन्द्र दाइ हिजो साँझदेखि अबेर रातिसम्म एलडीसीमै हुनुहुन्थ्यो, एमडी आफैं खटिएर लाइन सुचारु गराउनुभयो । आज बिहानैदेखि पनि उतै जानुभएको छ,' उनले फेसबुकमा लेखेका छन्, 'जब मान्छेले पूर्वाग्रह राखेर बोल्न थाल्छ, उसलाई जति सम्झाए पनि सम्झिँदैन, सम्झाएर बुझाएर फाइदै छैन। यो लेखे बापत मज्जैले गाली आउनेछ। तर चुप्प लागेर बस्न सकिएन।'
प्राधिकरणले हिजो देखिएको प्राविधिक समस्या र त्यसको समाधानका लागि भएको प्रयास एवं आगामी दिनमा समस्या आउन नदिन चाल्नुपर्ने कदमबारे आज छलफल गर्दै छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यसहित हुने छलफलमा देशभरीको वर्तमान विद्युत आपूर्तिको अवस्थाबारे प्रणाली सञ्चालन विभाग स्यूचाटारमा निरीक्षण र छलफल राखिएको प्राधिकरणले जनाएको छ ।