
उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र ‘के घर के डेरा घर नं २’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शन भएको छ ।
सो चलचित्र एकैपटक दुई सयभन्दा बढी ‘शो संख्या’मा प्रदर्शन भएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिए ।
चलचित्रका निर्देशक खनालका अनुसार ‘कर्णाली ब्लुज’, ‘फिरफिरे’, ‘एक्लो’जस्ता चर्चित उपन्याससहित विभिन्न कवितामार्फत् स्थापित बुद्धिराम चपाईं अर्थात् बुद्धिसागरको कथामा आधारित भई निर्माण गरिएको सो चलचित्रमा विशेषगरी काठमाडौं उपत्यकाभित्रका घरबेटी र डेरावालको कथाव्यथालाई समेटिएको छ ।
‘चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) मा गैरचलचित्रकर्मी दर्शकले पनि यसलाई मन पराउनुभएको छ । त्यसकारण म चलचित्र भवनसम्म पुग्ने दर्शकले चलचित्र मन पराउनुहुनेमा विश्वस्त छु । यो घरबेटी, डेरावालसँगै शहरमा हुनेहरूको कथा हो । यसको सुन्दर पक्ष भनेकै चलचित्रमा रहेका पात्रहरू एकआपसमा जोडिएका छन् । उनीहरूले काठमाडौं शहरमा देखिने हरेक वर्गलाई प्रतिनिधित्व गरेको छन् भन्ने लागेको छ’, निर्देशक खनालले भने ।
निर्देशक खनालले यस अगाडि ‘के घर के डेरा’ निर्देशन गरेका थिए । उस्तै नाम भए पनि यसपटक कथा र परिवेश फरक रहेको उनले जानकारी दिए । किनकी ‘के घर के डेरा’ लाई ‘कमेडी’ शैलीमा प्रस्तुत गरिएको थियो भने यसपटक ‘के घर के डेरा घर नं २’ मा ‘इमोसनल’ शैली प्रयोग गरिएको छ ।
उक्त चलचित्रमा खगेन्द्र लामिछाने, केकी अधिकारी, आर्यन सिग्देल, उपासनासिंह ठकुरी, निश्चल बस्नेत, प्रकाश घिमिरेलगायत कलाकारले पनि अभिनय गरेका छन् ।
अभिनेता लामिछानेले चलचित्रको पटकथामा राम्रा पात्रहरूको उदयसँगै न्यायोचित अवतरण रहेको जानकारी दिए । आफैं लेखक भएकाले उनले लेखनका क्रममा आइपर्ने कठिनाइसँग जानकार भएर पनि पटकथा सुन्दर लागेको प्रतिक्रिया दिए ।
‘पात्रलाई चलचित्रमा जसरी शुरूआत गरिन्छ, त्यसको अन्त्य धेरैलाई मन पर्ने किसिमको बनाउन निकै कठिन हुन्छ । म आफैं लेखक भएकाले यस चलचित्रमा पटकथामा आएका सम्पूर्ण पात्र अर्थपूर्ण हुनुका साथै एकआपसमा जोडिएको छ र ती यत्तिकै हराउँदैनन्’, अभिनेता लामिछानेले भने ।
‘पशुपति प्रसाद’जस्तो चलचित्रमा लेखकको भूमिकासँगै अभिनेतासमेत रहेका लामिछानेले ‘अर्गानिक’ भनेर अघोषित रूपमा बुझ्ने गरिएको ग्रामीण परिवेशसम्बन्धी बुझाइमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । नेपालका मौलिक विषय गाउँ मात्र नभई शहरकै पनि ‘अर्गानिक’ हुने उनको बुझाइ छ ।