लोकान्तर संवाददाता
काठमाण्डौ, माघ ६ –उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारका पुरै कर्मचारी फेरेर भएपनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् ।

‘विमानस्थलको भन्सारमा एउटै कर्मचारी बर्षौदेखि बसेको भन्ने मैले सुनेको छु, त्यो हुनुभएन,’ अर्थमन्त्री महराले भने, ‘एउटा कर्मचारी एक बर्ष भन्दा बढी त्यहाँ राख्न भएन ।’
भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर मन्त्री महराले यस्तो निर्देशन दिएका हुन् ।
वर्षौदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ्ग गरिरहेको जानकारी मन्त्रालयमा आएको भन्दै महराले यस्तो कार्य रोक्न निर्देशन दिएका हुन् । आधुनिक उपकरणसहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भएपनि, भन्सारलाइ चुस्त र पारदर्शी बनाउन महराले निर्देशन दिए ।
भन्सार विभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्यिुटीमा रहेका कर्मचारीलाइ तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराए ।
उनले विमानस्थलमा कार्यरत अनावश्यक कर्मचारी हटाएर थोरै कर्मचारीबाट चुस्त र दुरुस्त सेवा दिने बिषयमा योजना बनाइरहेको बताए ।