
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया शुरू गरेको छ ।
आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले काठमाडौं महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, शिवपुरी, खोकन तथा नागार्जुन नगरपालिका अन्तरगतको वडा नं १ र २ का कागेश्वरी मनोहरा, नागार्जुन वन, वृन्दावन महादेव लगायतका क्षेत्रमा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया शुरू गरेको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन् ।
बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी डडेलधुरा पुगेका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको बताए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमुक्त भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिरी जमानीमा रिहाइ गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशलगत्तै उनी हिरासतमुक्त भएका हुन् ।
००००
वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउनु मानव तस्करी र कानून विपरीतको दण्डनीय कार्य भएको बताएका छन् ।
करिब एक साताअघि मात्रै विभागको महानिर्देशकको जिम्मेवारी पाएका भट्टराईले शुक्रबार पत्रकार सम्मेलन गर्दै इजाजतपत्र लिएका म्यानपावर व्यवसायीबाहेकले श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउनु मानव ओसारपसारको काम भएको बताएका हुन् ।
००००
नक्कली सुनको मूर्ति देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ बाइसजोरे स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४९ वर्षीय काशीनाथ पौडेल छन्।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डडेल्धुराबाट फोन गरेकै दिन उपमहासचिव जनार्दन शर्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका छन् ।
शर्मा र देउवाबीच शुक्रबार दिउँसो देउवानिवास बूढानीलकण्ठमा भेटघाट भएको हो । यसबारे शर्माले नै सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल’, शर्माले सामाजिक सञ्जालमा लेखेका छन् । शर्मा देउवा प्रधानमन्त्री हुँदा उनको क्याबिनेटमा अर्थमन्त्री थिए ।
००००
नापी कार्यालय झापाका सर्भेक्षकले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा आंशिक सफाइ पाएपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
नापी कार्यालय, भद्रपुर, झापाका सर्भेक्षक सुवाषचन्द्र यादव समेतका प्रतिवादीले विशेषबाट आंशिक सफाइ पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
००००
दुई महिनादेखि बेलायतमा बस्दै आएकी जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले इमेलमार्फत् पठाएको राजीनामा स्वीकृत गर्न प्रदेशसभाले अस्वीकार गरेको छ ।
प्रदेशसभाले हस्तलिखित राजीनामा पत्रमा आशंका व्यक्त गर्दै स्वयं उपस्थिति हुन आग्रह गरेको हो । प्रदेशसभा सचिवालयले थप विवरणसहित स्पष्ट जानकारी माग गर्दै सांसद गुरुङलाई पत्राचार पनि गरेको छ ।
मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी गर्दै उनका श्रीमान् कैलाश गुरुङले उक्त पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
००००
चेक बाउन्स (चेकमा प्रविष्ट भएको रकम बैंक खातामा नरहेको) का सबै उजुरी प्रहरीले हेर्नेगरी ऐन संशोधन भएसँगै प्रहरीमा मुद्दाको चाप बढ्ने देखिएको छ ।
व्यक्तिगत लेनदेन वा कारोबारमा काटिएका चेक बाउन्सका उजुरी प्रहरीले हेर्दै आएको थियो । अब कम्पनीका चेकको उजुरी समेत हेर्ने जिम्मेवारी प्रत्यायोजन गरेसँगै प्रहरीलाई टाउको दुखाइको विषय बनेको छ ।
००००
निजामती सेवामा अतिरिक्त सचिव राख्ने प्रावधानसहित संघीय निजामती विधेयक संसदीय समितिबाट पारित भएको छ । शुक्रवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकलाई टुंगो लगाएको हो ।
समिति सचिव सुरजकुमार दुराले अतिरिक्त सचिव राख्ने विषयमा सहमति जुटेको लोकान्तरलाई जानकारी दिए । अधिकृत १३औं, १४औं र १५औं तहलाई राजपत्रांकित विशिष्ट श्रेणी भनिएको छ ।
००००
ऐन संशोधन र नयाँ नेतृत्व आएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रक्रिया, मुद्दा दर्तादेखि उजुरी फछ्र्योटसहित समग्र अनुसन्धान प्रणालीमा आमूल सुधार भएको पाइएको छ ।
साथै, नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टबाट बाहिर ल्याउनका लागि विभागका तर्फबाट गर्नुपर्ने काममा पनि उल्लेख्य प्रगति भएको पाइएको छ ।
००००
सर्वोच्च अदालतले अर्थविद विश्व पौडेललाई गभर्नर बनाउन नहुने माग गर्दै पेश भएको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
अधिवक्ता विशाल थापासहितले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार रजिस्ट्रार भद्रकाली पोखरेलले उक्त रिट निवेदन दरपीठ गरेका हुन् ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।
समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए । समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट आएका मन्त्री, नीति निर्माता, विज्ञलगायत थिए ।