
काठमाडौं, १७ मंसिर – दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा गुल्मीमा कर्मचारी खटनपटनमा विवाद देखिएको छ । कर्मचारी खटनपटनमा ‘राजनीति’ गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएपछि निर्वाचन हुने/नहुनेमा शंका बढेको छ ।
कर्मचारी खटनपटन गर्दा अधिकांश ठाउँमा एमाले र माओवादीका कर्मचारीको मात्रै टिम बनाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
हिँजोसम्म कर्मचारी खटनपटनमा कांग्रेस निकट कर्मचारी युनियनले मात्रै आपत्ति जनाएको थियो । आज चाहिँ उक्त विषय राजनीतिक मुद्दा बनेको कांग्रेसका एक नेताले बताए ।
गुल्मी कांग्रेसले २ सय ५१ ठाउँ मध्ये २२ भन्दा बढी ठाउँमा निर्वाचन अधिकृतदेखि कार्यालय सहयोगीसम्म वाम गठबन्धनमा आस्था राख्ने कर्मचारीलाई खटाइएको आरोप लगाएको छ । तर वाम गठबन्धनले चाहिँ संयोगले त्यस्तो हुन पुगेको भएपनि निर्वाचनलाई प्रभावित गर्ने गरी राजनीतिक गतिविधि अघि नबढाउन आग्रह गरेको छ ।
केही ठाउँमा कांग्रेसका मात्रै कर्मचारी परेको भएपनि आफूहरुले आपत्ति नजनाएको बाम गठबन्धनका निर्वाचन परिचालन कमिटि सदस्य बुद्धि जिसीले बताए । ‘शंका लागेका ठाउँहरुमा अनुगमनको पाटोलाई थप मजबुत बनाउँ भनेर हामीले आग्रह गरेका छौं,’ उनले भने, ‘कुन कर्मचारी कुन पार्टीको भनेर पत्ता लगाउने विषय गाह्रो हो । त्यो सम्भव नै हुँदैन ।’ तर कांग्रेसले चाहिँ कर्मचारी खटनपटनमा संशोधन हुनुपर्ने बताएको छ ।
कर्मचारी खटनपटनलाई संशोधन नगर्ने हो भने एकलौटी रुपमा चुनाव गरेर देखाउन कांग्रेसले चुनौती समेत दिएको छ ।
खटनपटनको विवाद
गुल्मीमा २ सय ५१ वटा मतदान केन्द्र तोकिएको छ । त्यसका लागि हरेक ठाउँमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत तोकिएको छ ।
प्रमुख निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले गोलाप्रथाको आधारमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत छानेका हुन् । निर्वाचन अधिकृत तथा सहायकहरुको तालिम सम्पन्न भइसकेको छ । निर्वाचनमा खटिने केहीले नियुक्ति लिएर बसेका छन् भने केहीले नियुक्ति लिने क्रममा विवाद भएको हो ।
मतदान अधिकृत र सहायक अधिकृत बाहेकका कर्मचारी चाहिँ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको समूहले गठन गरेको उच्च्स्तरीय कर्मचारी मण्डलले छानेको हो ।
तर गोलाप्रथा र कर्मचारी छनौटमा ‘राजनीति’ गरेर बुथ नै क्याप्चर गर्ने कोशिश गरिएको आरोप कांग्रेस नेताहरुले लगाएका छन् । २२ ठाउँमा वाम गठबन्धनमा आस्था राख्ने कर्मचारीको मात्रै समूह बनाएर निर्वाचन प्रभावित गर्न खोजिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसले निर्वाचन अधिकृत एमाले कर्मचारी भएको ठाउँमा सहायक कांग्रेस निकट कर्मचारी र सहायक एमाले निकट कर्मचारी भएको ठाउँमा अधिकृत कांग्रेस निकट कर्मचारी हुनु पर्ने माग गरेको छ ।
मुख्य निर्वाचन अधिकृतले वापन्थीहरुको प्रभावमा परेर कर्मचारी खटनपटनमा गडबढ गरेको आरोप कांग्रेसले लगाएको छ ।
अड्कियो नियुक्ति बाँड्ने काम
कर्मचारी खटनपटनमा कांग्रेसले आपत्ति जनाएपछि थप नियुक्ति बाँड्ने काम अवरुद्ध भएको छ ।
आजसम्ममा नियुक्ति बाँडेर कर्मचारीलाई गाउँमा नपठाएमा निर्वाचन गर्न÷गराउन समस्या हुने कर्मचारीहरु बताउँछन् ।
जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानले कर्मचारी खटनपटनमा केही विवाद देखिएको र त्यसलाई मिलाउनको लागि आफूहरुले कोशिश गरिरहेको बताए ।
‘हामीलाई कुन पार्टीको कर्मचारी को भन्ने कुरा थाहा हुने कुरा भएन,’ उनले भने, ‘कर्मचारी खटाउँदा आफ्नो गाउँ पनि नपरोस र टाढा पनि नपरोस भन्ने हिसावले राखिएको हो ।’ उनले आज दिउँसोसम्ममा नियुक्ति बाँडेर कर्मचारीलाई गाउँ पठाउने गरी तयारी भइरहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले खटन पटनमा केही विवाद देखिएको भएपनि त्यसलाई मिलाउनको लागि आफूले सहजिकरण गरिरहेको बताए । ‘मुख्य निर्वाचन अधिकृतज्यूले खटनपटन तोक्नुभएको हो, केही विवाद देखिएको छ,’ उनले भने, ‘मैले सहजिकरणका लागि काम गरिरहेको छु ।’
न्यायाधीश र सीडिओको जुँगाको लडाईं
कर्मचारी खटन पटनमा दलगत भन्दा पनि मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको जुँगाको लडाईं देखिएको छ । स्रोत भन्छ– यी दुई हाकिमबीच पहिलेदेखि नै खासै सौहार्दपूर्ण वातावरण थिएन ।
लामो समयसम्म सीडिओ बनेर कानून सेवामा छिरेका न्यायाधीश न्यौपानले आफूलाई सीडिओको काम कर्तव्य र अधिकारको बारेमा थाह भएको भन्दै वर्तमान सीडिओलाई वाइपास गर्न खोज्छन् ।
लामो समय निर्वाचन आयोगमा काम गरेका सीडिओ अर्यालले चाहिँ निर्वाचन कसरी गर्नुपर्छ र कसरी गराउनुपर्छ भनेर आफूलाई राम्रोसँग थाहा भएको आफू निकटहरुलाई सुनाउँछन् ।
यी दुईको जुँगाको लडाईंले गर्दा खटन पटनको विवाद उत्कर्षमा पुगेको जानकारहरु बताउँछन् । कर्मचारी खटन पटनमा सीडिओ र न्यायाधीशको स्वाथ्र्य बाँडिएपछि अहिले समस्या देखिएको हो ।
‘नियतवस’ पारियो धेरै ठाउँमा कम्युनिष्ट कर्मचारी
कांग्रेसले नियतवसनै धेरै ठाउँमा वाम निकटका कर्मचारी राखिएको आरोप लगाएको छ । एमाले निकट कर्मचारी संगठनको कुरा सुनेर न्यायाधीशले कर्मचारी खटन पटनमा गडबड गरेको आरोप कांग्रेसले लगाएको छ ।
कांग्रेसका तर्फबाट क्षेत्र नम्बर दुईमा प्रतिनिधि सभा सदस्य उम्मेदवार चन्द्र केसीले खुलेरै ४० ठाउँमा निर्वाचन अधिकृत र सहायकको भूमिका हेरफेर हुनुपर्ने बताएका छन् ।
यसरी खटाइएका कर्मचारीले निश्पक्ष निर्वाचन गर्छन् भन्नेमा आफूहरुले विश्वास गर्न नसक्ने कांग्रेसको तर्क छ । एमाले र माओवादीले चाहिँ निर्वाचन सौहार्दपूर्ण तरिकाले सपन्न गर्नको लागि मिलेर जानका लागि कांग्रेससँग आग्रह गरिरहेको छ ।
स्रोतहरुका अनुसार न्यायाधीशले कर्मचारी खटन पटन गर्दा केही गडबढ गरेको र यसलाई आधार बनाउँदै सीडिओले न्यायाधीशलाई ‘साइज’मा ल्याउन खोजेका छन् । जसका कारण गुल्मीको निर्वाचन अनिश्चित बन्दै गएको चर्चा जिल्लामा चलिरहेको छ ।