
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले शनिबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका उनले मन्त्री डा. देउवासँग ‘साइडलाइन’ भेट गरेका हुन् । त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो । मन्त्री डा. देउवाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याइन् ।
यसैगरी, मन्त्री डा. देउवासँग किर्गीस्थानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि शनिबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले मन्त्री डा. देउवासँग शनिबार होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटका क्रममा मन्त्री डा. देउवाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन् ।
उक्त भेटमा किर्गीस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।