२७ असार २०८३, शनिबार
गाजामा नयाँ सैन्य आक्रमण सुरू

इजरायलको थप आक्रमणपछि केही बन्धक छाड्न हमास तयार, इजरायलले माग्यो सबै जीवित रहेको प्रमाण

जेठ ४, २०८२
काठमाडौं
इजरायलको थप आक्रमणपछि केही बन्धक छाड्न हमास तयार, इजरायलले माग्यो सबै जीवित रहेको प्रमाण
विस्थापितहरू बस्दै आएका टेन्टमाथि प्रहार भएपछि घटनास्थलमा बसिरहेकी एक प्यालेस्टिनी महिला।तस्वीर : रोयटर्स

हामासले शनिबार भएको नयाँ वार्तापछि गाजामा युद्धविरामको नयाँ सम्झौताअन्तर्गत केही बन्धकहरू छाड्ने प्रस्ताव गरेको छ। यो वार्ता इजरायली सेनाले गाजा क्षेत्रमा नयाँ ठूलो आक्रमण सुरू गरेको केही घण्टापछि भएको थियो।

बीबीसीलाई एक जना प्यालेस्टिनी अधिकारीले बताएअनुसार, हामासले ६० दिनको युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सर्तमा ९ जना बन्धकहरू छाड्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्तावअनुसार, हरेक दिन ४०० वटा राहत सामग्री बोकेका ट्रक गाजामा प्रवेश गर्न दिने र बिरामीहरूलाई गाजाबाट बाहिर उपचारका लागि लैजान दिने प्रावधान पनि हुनेछ। इजरायलले भने बाँकी रहेका सबै बन्धकहरूको ‘जीवित रहेको प्रमाण’ र विस्तृत जानकारी माग गरेको छ।

यो नयाँ चरणको युद्धविरामसम्बन्धी वार्ता कतार र अमेरिकाको मध्यस्थतामा दोहामा शनिबार दिउँसो सुरू भएको हो।

इजरायलले अहिलेसम्म यो प्रस्तावमा आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन, तर वार्ताअघि उसले गाजाबाट सेना फिर्ता नबोलाउने र युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नगर्ने स्पष्ट पारेको थियो। बीबीसीका अनुसार प्रस्तावमा यस्तो प्रतिबद्धता समेटिएको छैन।

इजरायली सेनाले शनिबार ‘अपरेशन गिडियन चेरियट्स‘ नाम दिइएको नयाँ सैन्य आक्रमण सुरू गरेको घोषणा गरेको थियो। यो गाजामा पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो आक्रमण मानिएको छ।

बिहीबारदेखि मात्रै ३०० जनाभन्दा बढी मारिएको उद्धारकर्ताहरूले जनाएका छन्। उत्तर र दक्षिण गाजास्थित अस्पताल र शरणार्थी शिविरहरू पनि आक्रमणमा परेको जनाइएको छ।

मार्च १८ मा दुई महिनाको युद्धविराम टुटेपछि इजरायलले पुनः आक्रमण थाल्दा हालसम्म हजारौंको मृत्यु भइसकेको छ।

मानविक सहायता संस्था अनुसार गाजामा अत्यन्तै भयावह अवस्था सिर्जना भएको छ। इजरायलले पछिल्ला १० सातादेखि खाद्यान्न र अन्य राहत सामग्री गाजामा प्रवेश गर्न नदिँदा अवस्था झन् जटिल बनेको बताइएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसै महिनाको सुरूमा गाजाको ठूलो भूभाग ओगट्ने र हमासलाई ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ योजनाअनुसार सैनिक कारबाही तीव्र बनाउने घोषणा गरेका थिए। उनले गाजावासीहरूलाई दक्षिणतर्फ धकेल्ने रणनीति पनि सार्वजनिक गरेका थिए।

गाजाभित्रैबाट रिपोर्ट दिँदै पत्रकार घाडा अल कुर्दले बीबीसी न्यूजलाई उत्तर र पूर्वी गाजामा ‘हवाई आक्रमण, तोप आघात, ड्रोन आक्रमण, गोलीबारी र विस्फोट’ भइरहेको बतँइन् । 

‘यो भयावह र त्रासदपूर्ण अवस्था हो’ उनले भनिन्। उनका अनुसार खानाको अभाव र चर्किएको मूल्यका कारण परिवारले दिनमा एकपटक मात्र भोजन गर्न सकेको छ। उनले इजरायलमाथि ‘खानालाई हतियारको रूपमा प्रयोग गरेको’ आरोप लगाइन्। पछिल्ला हप्ता यूएन अधिकारीहरूले पनि यस्तो आरोप लगाएका थिए।

राहत संस्थाहरूले गाजाका २१ लाख जनसंख्यालाई भोकमरीको जोखिम बढेको चेतावनी दिएका छन्। इजरायली नाकाबन्दीका कारण कुपोषणले थलिएका बालबालिकाको दुरावस्थाका भिडियो तथा प्रत्यक्ष विवरणहरू बाहिर आएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार गाजामा ‘धेरै मानिसहरू भोकमरीमा रहेका’ भनेका थिए। तर, इजरायली सरकारले गाजामा खाद्य संकट रहेको दाबीलाई पटक–पटक अस्वीकार गर्दै आएको छ।

प्रधानमन्त्री नेतान्याहुले मे ५ मा गाजामा ‘तीव्र प्रवेश’ गर्ने घोषणा गरेका थिए। उनले उक्त अभियान अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सकिएपछि मात्रै सुर गरिने बताएका थिए। ट्रम्प शुक्रबार गाजाबाट फर्केका थिए।

त्यसै दिन उत्तर र मध्य गाजाका बासिन्दाहरूलाई आफ्नो घर वा आश्रय स्थल छाड्न आदेश दिइएको थियो। राहतकर्मीहरूले यो आदेश ‘प्रायः असम्भव’ रहेको जनाएका छन्, किनकि अधिकांश बासिन्दा यसअघि नै बारम्बार घरवारविहीन भइसकेका छन्।

इजरायली सेनाले शनिबार दिएको जानकारी अनुसार ‘जबसम्म हमास खतरा रहन्छ र सबै बन्धकहरू फर्काइँदैनन्, तबसम्म सैनिक कारबाही रोकिने छैन ।’ पछिल्लो २४ घण्टामा गाजा भर १५० भन्दा बढी ‘आतंकवादी लक्ष्यहरू’ माथि हमला गरिएको इजरायलले दाबी गरेको छ।

शनिबारको आक्रमणले गाजाको उत्तरतर्फको बेत लाहिया र जबालिया शरणार्थी शिविर, साथै दक्षिणतर्फको खान युनिसमा समेत क्षति पर्‍याएको छ। यो जानकारी हामासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालय र नागरिक सुरक्षा निकायहरूले दिएका हुन्।

आउँदा दिनमा हजारौं इजरायली सैनिक र आरक्षित फौज गाजामा प्रवेश गर्ने तयारीमा रहेका छन् । इजरायली ट्यांकहरू सीमा नजिकै देखिएका रोयटर्सले जनाएको छ।

संयुक्त राष्ट्रसंघ र केही युरोपेली नेताहरूले भने इजरायलको यस तीव्र आक्रमणको आलोचना गरेका छन्।

संयुक्त राष्ट्रसंघ अन्तर्गत प्यालेस्टिनी शरणार्थीसम्बन्धी संस्था (UNRWA)का प्रमुख फिलिप लाजारिनीले इजरायली सैन्य कारबाहीप्रति स्तब्धता व्यक्त गर्दै भनेका छन्, ‘कति प्यालेस्टिनीको ज्यान बमबारी, भोक वा औषधिको अभावमा गुम्न बाँकी छ?’

नयाँ आक्रमणपछि संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र इटलीका विदेशमन्त्री एन्टोनियो ताजानीले स्थायी युद्धविरामको माग गरेका छन्। जर्मन विदेश मन्त्रालयले गाजाको जनसंख्यासहित बाँकी बन्धकहरूको लागि यो आक्रमणले ‘संकटग्रस्त मानवीय अवस्था अझ बिगार्ने’ जोखिम रहेको जनाएको छ।

गएको वर्ष अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गर्दा करिब १,२०० जना मारिएका र २५१ जनालाई बन्धक बनाइएको थियो। उक्त आक्रमणको जवाफमा इजरायलले हमासलाई ‘नष्ट गर्ने’ लक्ष्यसहित सैन्य अभियान सुरू गरेको थियो।

त्यसयता गाजामा ५३,००० जनाको मृत्यु भइसकेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ, जसमा मार्चयता मात्रै ३,००० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ। हमाससँग हाल पनि ५८ जना बन्धक रहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्