०७ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

सांसद रोएपछि कांग्रेस बैठकमा सन्नाटादेखि झ्याप्प झ्याप्प बिजुली जाने समस्यासम्म

जेठ ४, २०८२
काठमाडौं
सांसद रोएपछि कांग्रेस बैठकमा सन्नाटादेखि झ्याप्प झ्याप्प बिजुली जाने समस्यासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
दुई जना महिला सांसद धुरुधुरु रुन थालेपछि नेपाली कांग्रेस संसदीय दलको बैठकमा एकछिन सन्नाटा छाएको छ । समसामयिक विषयमा छलफल गर्न शनिवार बसेको बैठकमा सांसदद्वय माया राई र मञ्जु खाण धुरुधुरु रोएका हुन् । 

काठमाडौँमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेर अदालतको आदेशले धरौटीमा छुटेकी सांसद राई रोएपछि खाणपनि रोएकी थिइन् । 

००००
पछिल्लो समय बिजुली झ्याप्प झ्याप्प गएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आलोचित छन् । शाक्यले प्राकृतिक कारणले समस्या आएकाले यसलाई लोडसेडिङका रुपमा नबुझिदिन आग्रह गर्दै आएपनि उनको आलोचना हुने क्रम भने रोकिएको छैन । 

उनले सार्वजनिक रूपमै यस्तो समस्या विगतमा पनि भएको र अध्ययन समिति नै बनेको बताउँदै आएका छन् । 

उनले भनेजस्तै कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा हुँदा पनि यस्तै समिति बनेको पाइएको छ । २०८० साउन २६ मा विद्युत प्राधिकरणले वितरण प्रणालीमा देखा परिरहेका विभिन्न समस्याको अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न एक अध्ययन तथा राय सिफारिस समिति गठन गरेको थियो ।
००००
विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।  प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
००००
लमजुङको बेसीसहरमा शनिबार सुरु भएको कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पाँचौँ जिल्ला अधिवेशन हिंसात्मक बनेको छ। अधिवेशनको उद्घाटन सत्रका क्रममा दुई समूहबीचको विवाद चरममा पुग्दा खुकुरी प्रहार भएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार अधिवेशन सुरु भएपछि बाहिरबाट आएको एक समूहले कार्यक्रम बिथोलेको थियो। त्यसपछि विवाद उत्कर्षमा पुगेर बाहिर निस्कँदै गर्दा खुकुरी प्रहार भएको हो।
००००
नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति शेरबहादुर देउवालाई फोन गर्नु सामान्य भनेको छ ।

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै माओवादी उपमहासचिव जनार्दन शर्मा देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी एमालेका नेताद्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा शनिबार देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । 

यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गरियो । 
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।

शुक्रबारदेखि शुरू भएको जनतासँग माओवादी जनता जागरण अभियानअन्तर्गत शनिबार डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा र्पुयाएको बताए ।
००००
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक भएको बताएका छन् । 

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा शनिबार एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई बिगार्न नदिन र विनाव्यवधान सुशासनलाई तीव्र गतिले अगाडि बढाउन एमालेको बहुमतको सरकारका आवश्यक रहेको बताएका हुन् । 

‘मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिला र्गयौं, स्वार्थ समूहको भ्रमबाट मुक्त हुनुपर्छ, एमालेलाई आगामी निर्वाचनमा बहुमत दिन युवाले साथ दिनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘म युवालाई एमालेमा आउनुस् एकै पटक एमालेको अध्यक्ष बनिहाल्नोस् भनेर उकास्न चाहन्नँ । एमालेमा आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ ।’

कमेन्ट गर्नुहोस्