
काठमाडौं, १७ मंसिर – धेरैको चासोको विषय बनेको काठमाडौं क्षेत्र नम्बर एक को चुनाव रोचक बन्ने देखिएको छ । यतिबेला क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा उम्मेद्वार नेकपा एमाले र माओवादीका केन्द्रका साझा उम्मेद्वार अनिल शर्मा, नेपाली कांग्रेसका प्रकाशमान सिंह र नयाँ विकल्पसहित आएको विवेकशील साझा पार्टीका संयोजक रबिन्द्र मिश्र तिनै जनाले आफूले चुनाव जित्ने दाबी सहित मैदानमा खटिएका छन् ।
तिनै जना यतिबेला मतदाताहरुसँग घरदैलोमा व्यस्त छन् । सोही क्रममा वाम गठबन्धनका साझा उम्मेद्वार अनिल शर्मा शनिबार दिनभरजसो घरदैलोमै व्यस्त रहे ।
काठमाडौं महानगरपालिको अति व्यस्त मानिने मतको आधार क्षेत्र समेत मानिने बिजुली बजारमा शनिबार बिहानै पुगे । शर्माको टोली व्यस्त मतादाताको घर घरमा पुग्दा मतादाताहरुको युवा उम्मेद्वार भएकाले आफूले मत दिने विवास दिलाउँथे, शर्मा मख्ख पर्दै पर्खिन्थे ।
‘अब राजनीतिकमा युवाहरु बढ्नुपर्छ ।’ ०४६ सालदेखि निरन्तर मताधिकार प्रयोग गर्दै मत हाल्दै आएका ७० वर्षीया भोलाराज त्रिपाठी थप्छन्, ‘परिवर्तनका नाममा गरिएको राजनीतिले पुराना अनुहारलाई कहिले बिर्षेन, के को परिवर्तन हुन्थ्यो, त्यसैले हो म जस्तो बुढोले अहिले आएर पार्टी हैन व्यक्ति हेरेर युवाहरुलाई मत दिनुपर्छ भन्ने अभियान नै चलाएको छु ।’
उनले पार्टी बिशेषलाई जिताउने अभियानमा हैन युवा जिताउने अभियानमा लाग्नुपर्ने बताउँदै भने, ‘अब वाम गठबन्धन होस्, काँग्रेस होस या नयाँ पार्टी जसले जोश जाँगर र भिजन भएका युवा उठाउँछ उसैलाई मत दिए मात्रै साँच्चै परिवर्तको राजनीति हुनेछ ।’
युवालाई मौका दिनुपर्छ भन्नेमा बिजुलीबजारका अधिकांश युवाहरुको एक मत देखिन्थ्यो । अनिल शर्माको टोलीले भोट माग्दै हिँड्दा बाहिर चोकमा उभिएर कतिपय युवाहरु भन्थे, ‘यस्ता युवाहरु सबै क्षेत्रमा आउनुपर्छ, अनि पो प्रतिस्पर्धा हुन्छ, पुरानै अड्डी कस्नेसँगै के के प्रतिस्पर्धा हो र ?’ साथीभाईबीच नै प्रतिप्रश्न गर्थे ।
कृष्णभोग पार्टी प्यालेस छेउको चोकमा गोलो घेरा उभिएको एक युवाहरुको जमातमै पसी ‘युवाहरुले मात्रै जितेर परिवर्तन आउँछ त ?’ लोकान्तरको प्रश्नमा
एक युवा भन्छन्, ‘अब यी बुढाहरुले बसेर खाने बेला भयो, छोराछोरीलाई विदेश पठाएर आफै राजनीति गरेर हुन्छ ? उत्तराधिकारी चाहिएन ?’
उनी थप्दै गए, ‘अब ४० वर्षको युवाले ७० वर्षको बुढो उम्मेद्वारसँग प्रतिस्पर्धा गर्ने त ? सबै पार्टीले युवा उठाए पो प्रतिस्पर्धा हुन्छ ।’ उनको कुरा सबै साथीहरुले समर्थन जनाए ।
तर शर्मा तथा उनीजस्तै युवालाई राजनीतिका कच्चा खेलाडी भन्नेहरु पनि भेटिए ।
बिजुलीबजारकै लक्ष्मण श्रेष्ठ भन्छन्, ‘काम गरौं भन्ने जोश जाँगर त हुन्छ नि युवाहरुमा र अनुभव बिना राजनीति हुन्छ र ? त्यसैले भोट हाल्न त अनुभवी र इमान्दार उम्मेद्वार नै छान्नुपर्छ ।’
मत माग्दै गर्दा शर्माले उमेर र अनुभवको हिसाबले म भन्दा सिनियर उम्मेदवार अरु भए पनि आफूले जनताको साथ पाए काम गरेर देखाउँने आश्वान दिए । जनताको मत संकलन गर्ने अभियानमा रहँदा शर्मा आफूले जित्नेमा ढुक्क हुँदै विकास पनि गर्ने प्रतिबद्धता जनाइरहेका थिए ।
हँसिलो अनुहारका युवक अनिल शर्मालाई युवा भएकै कारण युवालाई नेतृत्व दिनुपर्ने प्रसस्त भेटिए । जसका कारण बलिया उम्मेद्वार काँग्रेसका सिंह र एकाएक चर्चित बनेका साझाका मिश्रसँगै शर्मा भिड्दा काठमाडौं क्षेत्र नम्बर १ मा रोचक त्रिपक्षीय प्रतिस्पर्धा देखिएका छ ।
उम्मेद्वारीको शुरुवाती चरणमा हेविवेटको सूचिमा नअटाइएका शर्मालाई युवाहरुको दरिलो साथ रहने र अनुमान गर्न सकिन्छ ।