०५ साउन २०८३, मंगलबार

माओवादीको मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकम कर्णालीमा जनसंवाद

जेठ ४, २०८२
काठमाडौं
माओवादीको मध्यपहाडी लोकमार्ग अभियान कर्णाली प्रवेश, राकम कर्णालीमा जनसंवाद

मध्यपहाडी लोकमार्गकेन्द्रित माओवादी केन्द्रको जनअभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। प्रवेशसँगै पहिलो कार्यक्रमका रूपमा दैलेखको राकम कर्णालीमा जनसंवाद सम्पन्न गरिएको छ ।

सुदूरपश्चिमको बैतडी पाटनबाट सुरू गरिएको अभियान अछाम हुँदै अछाम-दैलेखको कर्णाली पुल पार गरी कर्णाली प्रदेश प्रवेश गरेको हो । अभियान अन्तर्गत आइतबार दिउँसो १ बजे दैलेख सदरमुकाममा जनसभा गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । 

राकममा सम्पन्न जनसंवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गर्न, सुशासन प्रवर्द्धन गर्न र भ्रष्टाचारविरुद्ध आवश्यकता परे नयाँ आन्दोलनको वातावरण बनाउन पनि यो अभियान गरिएको बताए । 

‘मध्यपहाडी क्षेत्रमा विकासबाट पछाडि परेका जनतालाई समेटेर समृद्धिको बाटो खोल्ने उद्देश्यले माओवादी केन्द्रले यो अभियान अघि सारेको हो । मध्यपहाडी लोकमार्ग केवल सडक सञ्जाल होइन, यो अभियान सामाजिक रूपान्तरणको अभियानसँग जोडिएको छ ।’

सरकारमा हुँदा माओवादी केन्द्रले सामाजिक न्याय र सुशासनका लागि भ्रष्टाचारविरुद्ध दृढताका साथ संघर्ष गरेको र अहिलेको अभियान त्यसै राजनीतिक संघर्षको निरन्तरता भएको उनले बताए । 

यो अभियान जनताको प्रत्यक्ष सहभागिता र भावनालाई आधार मानेर अघि बढाइएको उनले बताए । गरिब, किसान, मजदुर, उत्पीडित समुदाय, सहिद परिवार, बेपत्ता व्यक्तिका आफन्त, जनयुद्धका घाइते तथा अपांग नागरिकहरूसँग भेटघाट गर्दै अभियान अगाडि बढाइएको उनले बताए । 

कृषकहरूको मल र बीउको समस्या कसरी समाधान गर्ने, स्थानीय तहबाट समाजवाद निर्माणको पहल कसरी लिने, र स्थानीय अर्थतन्त्र कसरी मजबुत बनाउने भन्ने विषयमा  माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय सरकारहरूलाई नीतिगत रूपमा काम गर्न निर्देशन दिइसकेको प्रचण्डको भनाइ छ । 

‘स्थानीयतालाई संरक्षण र प्रवर्द्धन गर्दै जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो । त्यसैले यो अभियानमा साथ दिन आम जनसमुदायलाई अपिल गर्दछु’, प्रचण्डले भने । 

salt training

कमेन्ट गर्नुहोस्