
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले यही वैशाख ३१ गते काठमाडौं महानगरपालिका-२४ मखन टोलमा भएको आगलागीको विषयमा प्रभावकारी छानबिन गर्न प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिएकी छन् ।
उनले गुरागाईंलाई प्रभावकारी छानबिन समिति बनाएर १० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएकी हुन् । वैशाख ३१ मखनमा आगलागी हुँदा चार वटा घरमा क्षति पुगेको थियो भने एक जनाको आगलागीमै जलेर ज्यान गएको थियो ।
आगलागीबाट दयाराम श्रेष्ठको घर पूर्णरूपमा क्षति भएको थियो भने सँगैको रुकेश श्रेष्ठको पाँचतले घर र त्योसँगै रहेको कैलाश श्रेष्ठ र विकास श्रेष्ठको घरमा पनि क्षति भएको थियो । आगलागीको घटना लगत्तै काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोल त्यहाँ पुगी अनुगमन गरेकी थिइन् ।
‘वैशाख ३१ मा आगलागी भएपछि म आफैं अनुगमनमा गएर त्यहाँको वस्तुस्थिति बुझेकी थिएँ,’ डंगोलले भनिन्, ‘काठमाडौं महानगरपालिकाको दमकल भएको ठाउँबाट केही मिनेटकै दूरीमा आगालागी हुँदा पनि समयमै नियन्त्रणको प्रयास भएन भन्ने जस्ता गुनासाहरू पनि आएका छन् । यी सबै कुरालाई ध्यानमा राखेर तुरुन्तै छानबिन समिति बनाएर त्यो समितिलाई १० दिनको म्यादभित्र रिपोर्ट बुझाउन लगाउनु भनेर मैले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु ।’
उपप्रमुख डंगोलले के–के कमजोरी भए, के–के गल्ती भए सबै कुराको गहिरो अध्ययन गरेर रिपोर्ट तयार पार्न निर्देशन दिएको पनि उल्लेख गरिन् ।