
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको पूर्ण बैठक शुक्रबार रामपुरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकमा जिल्ला तहका नेताहरूले संक्षिप्त धारणा राखेपछि पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा सम्बोधन गरेका थिए ।
अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा जनयुद्धको योगदान, सहिद परिवारको बलिदान, वर्तमान राजनीतिक स्थिति र भावी कार्यदिशा सम्बन्धमा प्रकाश पारे । उनले भने— “दैलेखको भूमिले क्रान्तिको इतिहास बोकेको छ। अब यही भूमिमा समाजवादको आधारशिला निर्माण गर्न आवश्यक छ।”
उनले पछिल्लो समय कर्णाली पुल हुँदै दैलेख प्रवेश गरेपछि सहिद परिवारकोमा गरिएको भेट, राकममा आयोजित कार्यक्रम, तथा संगठनात्मक छलफलहरूमार्फत जनसम्बन्ध सुदृढ गरिएको उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले विभिन्न पार्टीहरूसंग पार्टी एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख रहेको बताउँदै विचार र राजनीतिक आधारमा टेकेर मात्र एकता गर्दा दीगो एकता सम्भव हुने धारणा व्यक्त गरे।
अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारको अपनत्व राज्यले नै लिने गरी शान्तिप्रकृया टुंग्याउनुपर्ने उल्लेख गर्दै सत्य निरूपण तथा बेपत्ता व्यक्तिहरू सम्बन्धी विधेयक दुवै सदनबाट पारित भई आयोग गठन भइसकेको जानकारी दिए ।