
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
उच्च अदालत पोखराले रवि लामिछाने, छविलाल जोशीसहित ७ जनाको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश गरेको छ ।
मुख्य न्यायाधीशद्वय डा। रत्नबहादुर बागचन्द र मिलनकुमार राईको संयुक्त इजलासले आइतबार प्रमाण मिसिल झिकाउने आदेश गरेको उच्च अदालत पोखराका सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिए ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको मुद्दामा पोखरा जिल्ला अदालतले गरेको थुनछेक आदेशविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत पोखराले उक्त आदेश गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव ७९ अङ्कले घटेर दुई ६०९ दशमलव शून्य पाँचको विन्दुमा कायम भएको छ । पछिल्लो छ कारोबार दिन आइतबार पनि नेप्से परिसूचकमा गिरावट देखिएको हो ।
००००
रसुवाबाट आइतबार अपरान्ह बरामद भएको ७ किलो बढी सुन लुकाउन गाडी चालक किशोर भुजेलले फल्स बटम बनाएको पाइएको छ ।
चालकको क्याबिनमा फल्स बटम बनाई प्लाष्टिक भित्र सुन राखी टेपले बेरेर सुन लुकाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख एवं डीएसपी हेमबहादुर शाहीले लोकान्तरलाई जानकारी दिए ।
००००
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले दिएका संयोजक जिम्मेवारी तीन जना वडा अध्यक्षहरूले अस्वीकार गरेका छन् ।
कार्यपालिका सदस्यसमेत रहेका ती वडा अध्यक्षहरूले संयुक्त रूपमा एउटा पत्र लेख्दै आफूलाई दिइएको समितिको संयोजक पद स्वीकार नगर्ने जानकारी दिएका हुन् ।
तीनै वडा अध्यक्षलाई २०७४ सालको कार्यसम्पादन नियमावलीको नियम १५ (१) अनुसार तीन वटा विषयगत समितिका संयोजकको जिम्मेवारी पत्रमार्फत प्रदान गरिएको थियो ।
पछिल्लो समय महानगरका मेयर बालेन्द्र साहसँग टसलमा रहेका दल बहादुर कार्की, वीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले जिम्मेवारी अस्विकार गरेका हुन् ।
००००
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिनुपर्ने गरी पतञ्जली जग्गा प्रकरणमा मन्त्रिपरिषद्ले गरेका निर्णय तथा यस सम्बन्धमा भएका अनुसन्धानका महत्त्वपूर्ण कागजातहरू लोकान्तरले फेला पारेको छ ।
पतञ्जलीको स्वार्थमा कसरी सरकार नै प्रयोग भयो र कानून, नियम तथा कार्यविधि वास्ता नगरी कसरी निर्णय गरियो भन्ने यी कागजातहरूले देखाउँछन् ।
००००
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लागि दबाब बनाउन संगठित हुँदै आएका ६ भाइले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खोजी गरेका छन् ।
महाधिवेशनको वर्ष लाग्दा पनि क्रियाशील सदस्यताको विषय टुंग्याउन नसकेको भन्दै यस अघि संगठित हुँदै आएका विमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला र डा प्रकाशशरण महतले यस्तो चिन्ता गरेका हुन् ।
‘महाधिवेशनको वर्ष भइसकेको छ । तर अझै क्रियाशील सदस्य ४ जिल्ला मात्रै टुंग्याए । अरुकोमा विवाद छ भनेर समाचार आएका छन् । पार्टीले पटक(पटक समय दिँदा पनि सदस्यता नटुंगिएपछि कार्यकारी जिम्मेवारी पाउनुभएका महामन्त्रीहरूको खोजी हुनु स्वाभाविक कुरा हो,’ छलफलमा सहभागी भएका एक नेताले भने, ‘महाधिवेशन, सरकार, संसद्का कुरा हाम्रो छलफलमा नभएको होइन । तर महामन्त्रीहरू पार्टी काम छोडेर कोही सगरमाथा चढ्न जाने, कोही गाउँपालिकाको सम्मेलनमा जाने हुँदा कसरी सदस्यताको काम समयमा सकिएला भन्नेमा चिन्ता जनाएका हौं ।’
सो छलफलमा सहभागी अर्का नेता कृष्णप्रसाद सिटौलाले सधैंका भेटघाटको निरन्तरताको स्वरूप आइतबार ६ नेताले छलफल गरेको जानकारी दिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति दैलेखको पूर्ण बैठक शुक्रबार रामपुरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकमा जिल्ला तहका नेताहरूले संक्षिप्त धारणा राखेपछि पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा सम्बोधन गरेका थिए ।
००००
काठमाडौँ महानगरपालिकाले सिप मेलाका लागि ७ वटा पेसासँग सम्बन्धित तालिम थप गरेको छ । यसअघि आइसीटी क्षेत्रमा छानिएका ५ वटा पेसामा ७ वटा पेसा थप गरेको छ ।
००००
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् ।
आइतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ बमोजिम रामेश्वर चौधरीलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
माछा पोखरी निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आइतबार विशेष अदालतमा २९ करोड बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।