
गृहमन्त्री रमेश लेखकले हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँमा पहिरोबाट विस्थापितलाई तत्काल राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएका छन् ।
सोमबार गृह मन्त्रालयमा बसेको बैठकले पहिरोबाट विस्थापितहरूलाई तत्काल त्रिपाल र खाद्यान्न लगायतका राहत सामाग्री उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्री लेखकले विस्थापितहरूका लागि तत्काल हेलिकप्टरबाट राहत सामाग्री र स्थलगत अध्ययनकाम लागि प्राविधिक टोली समेत पठाउन निर्देशन दिएका छन् ।
बैठकमा मन्त्री लेखकले तत्काल विस्थापितहरूको खानेबस्ने व्यवस्था गर्न र प्राविधिक टोलीले स्थलगत अध्ययन गरेर रिपोर्ट तयार गर्न समेत निर्देशन दिए । राहत तथा स्थलगत अध्ययनका लागि कर्णाली प्रदेश सरकारसित आवश्यक समन्वय गर्न मातहतका निकायलाई निर्देशन दिए ।
हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहितको पहिरोले स्थानीय विस्थापित भएका छन । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएको बताइएको छ ।
त्यसैगरी, बैठकमा मन्त्री लेखकले प्रिमनसुन पूर्व नै विपद् प्रतिकार्यका लागि आवश्यक तयारी र समन्वय थाल्न निर्देशन दिए । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सात वटै प्रदश र ७७ वटै जिल्लाका सुरक्षा समितिसँग बैठक छलफल गरि प्रिमनसुन पूर्व नै तयारी थाल्न निर्देशन दिएका गृह मन्त्रालयले जनाएको छ ।
साथै, विपद् प्रतिकार्यमा नीजि संघ, संस्थाहरूसँग भएको स्रोत साधन र क्षमतालाई समेत उपयोग गर्ने गरी समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाउन मन्त्री लेखकले जोड दिए ।
त्यसैगरी, बैठकमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले तत्काल राहत वितरणलाई अघि बढाउन जोड दिए । उनले जलवायु परिर्वतनका कारण हिमाली क्षेत्रमा उच्च जोखिम रहेको बताए ।