
काठमाडौं, १७ मंसिर — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व सुरक्षा सल्लाहकार माइकल फ्लिनले झुटो बोलेको कुरालाई स्वीकार गरेको विषयका सन्दर्भमा ‘संक्रमणका बेलामा फ्लिनका काम वैध’ रहेको भन्दै ट्वीट गरेका छन् ।
द न्युयोर्क टाइम्सले रुसी अधिकारीहरूसँग सम्पर्क राख्नमा फ्लिन मात्र संलग्न रहेको कुरा ‘शीर्ष संक्रमण अधिकारीहरू’ बीचको इमेलबाट झुटो साबित भएको लेख्यो । ह्वाइट हाउसले फ्लिन मात्र त्यसमा संलग्न रहेको बताउँदै आएको छ ।
शुक्रवार फ्लिनले एफबीआईसँग झुट बोलेकोमा दोषी रहेको स्वीकार गरे । उनले गत वर्ष ट्रम्प निर्वाचित भएपछि अनि उनले जनवरीमा शासन सम्हाल्नुअघि तत्कालीन रुसी राजदूत सर्गे किस्ल्याकसँग कुराकानी गरेको विषयमा झुट बोलेको बताए ।
फ्लिनले यस विषयमा अनुसन्धान गरिरहेका रोबर्ट म्युलरलाई सहयोग गरेको र रुसी सम्पर्कका विषयमा बयान दिन तयार रहेको पनि बताए । विश्लेषकहरूका अनुसार, फ्लिनले अनुसन्धानमा सघाउँदा ट्रम्प आफैं र उनका सहयोगी समेत शंकाको घेरामा पर्ने देखिन्छ ।
फ्लिनले राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा २४ दिन काम गरेपछि राजीनामा दिएका थिए । किस्ल्याकसँगको संवादका बारेमा उपराष्ट्रपति माइक पेन्सलाई गलत सूचना दिएको आरोपमा उनलाई पदबाट बर्खास्त गरिएको थियो ।
एजेन्सी