
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको तेस्रो गीति एल्बम ‘धार बदलिएको जिन्दगी’ सार्वजनिक भएको छ । नेपालको न्यायप्रणालीको क्षेत्रमा विशिष्ट पहिचान बनाएका श्रेष्ठले आफूलाई गीतकारको रूपमा भिन्नै परिचय दिएका हुन् ।
वैशाख २१ गते काठमाडौंमा आयोजित समारोहमा श्रेष्ठको तेस्रो गीति एल्बम ‘धार बदलिएको जिन्दगी’, पुस्तक ‘जिन्दगी जति हिँड्यो उति टाढा’ र ‘म मरेको खबर’ शीर्षकको गीतको म्युजिक भिडियो एकैपटक सार्वजनिक गरिएको हो ।
गीति एल्बम विमोचन समारोहमा श्रेष्ठले जिन्दगीमा कुनै दिन गीतकार बन्ने सोचाइ समेत नभएपनि साथीभाइको संगतले गीतकार बनेको बताए ।
‘गीत लेख्छु भनेर जीवनमा सोचेको पनि थिइनँ । तर, चूडामणि देवकोटा र शक्ति बल्लभसँगको संगतका कारण ८७ वटा गीत लेखिसकेछु’ श्रेष्ठले भने ।
श्रेष्ठको गीति एल्बममा संगीतकार शक्तिबल्लभले संगीत भरेका छन् ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्याय क्षेत्रमा विशिष्ट पहिचान बनाएका श्रेष्ठले गीतकारको रूपमा समेत पहिचान बनाएको बताइन् ।
‘कतिपयलाई न्यायाधीश भनेपछि भावना नभएका व्यक्ति हुन जस्तो लाग्दो हो । तर, भावना भएरै र करुणा भएरै न्यायाधीशहरूले न्याय दिइरहेका हुन्छन्,’ मल्लले भनिन् । गुम्सिएर रहेका भावनालाई कल्याणले गीतको स्वरूप दिएकोमा उनले आभार व्यक्त गरिन् ।
यसअघि २०८१ सालमा श्रेष्ठको अर्को एल्बम ‘नबुझिएको जिन्दगी’ सार्वजनिक भइसकेको छ ।
हेर्नुहोस्, विमोचनको भिडियो :
पढ्नुहोस् यो पनि :
नबुझिएको जिन्दगी खोतल्दै कल्याण– 'यो भोग्ने कुरा, यो चल्ने कुरा'
एल्बमको एउटा गीत- म मरेको खबर :