२७ असार २०८३, शनिबार

भ्रष्टाचार गरेको प्रमाण भए राजनीति गर्दिन : राणा

मंसिर १७, २०७४
भ्रष्टाचार गरेको प्रमाण भए राजनीति गर्दिन : राणा

ललितपुर, १७ मंसिर- नेपाली काँग्रेसका युवा नेता एवम् अर्थराज्यमन्त्री उदयशम्शेर राणाले आफूले कहिल्यै भ्रष्टाचार नगरेको र जनताको पक्षमा निरन्तर काम गरिआएको बताउनुभएको छ । 

गोदावरी नगरपालिका चापागाउँस्थित आज चुनावी घरदैलो कार्यक्रमपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै उहाँले ललितपुर क्षेत्र नं १ मा विकासका काम उल्लेखनीय गरेको उल्लेख गर्नुभयो । ‘‘आजसम्म कहीँकतै मैले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाण भए राजनीति गर्दिन’’ उहाँले भन्नुभयो । 

लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका “मंसिर २१ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजयीले यहाँ विकासले छलाङ मार्ने उहाँले दाबी गर्नुभयो । ‘‘काँग्रेसकै नेतृत्वमा संविधान निर्माण भयो र कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुने हो”, उहाँले भन्नुभयो । 

वाम गठबन्धनको विजयी भएमा देशमा एकतन्त्रीय शासन लागू भएर जनताको अधिकार खोसिन सक्ने उहाँको भनाइ थियो । उहाँले नेपाली जनताको हितका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई बहुमत दिन पनि अपिल गर्नुभयो । 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान निर्माण भयो अब त्यसको कार्यान्वयनसमेत काँग्रेस नेतृत्वको सरकारले गर्ने राणाले बताउनुभयो । 

सो अवसरमा क्षेत्र नम्बर १ (ख) सोही गठबन्धनका उम्मेदवार मीनकृष्ण महर्जनले देशमा राणा शासन र राजतन्त्रलाई काँग्रेसले समाप्त गरेको प्रसंग सुनाउँदै अब आर्थिक क्रान्तिबाट गरिबीको अन्त्य गरेर छाड्ने बताउनुभयो । जनताका अधिकारलाई स्थापित गराउन लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको उहाँको भनाइ थियो । 

देशमा स्थिर सरकार निर्माण गर्न आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको उहाँले औँल्याउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्