काठमाडौं, ६ माघ — भारतको राजधानी नयाँ दिल्लीमा महिलाविरुद्धको हिंसाका घटना दिनदिनै भइराख्छन् । यस्तै एक घटनामा एक विद्यार्थीले आफ्नी शिक्षिकालाई स्कूलको शौचालयमा बन्द गरे अनि बाहिर निकाल्नका लागि घिनलाग्दो माग गरे ।

नयाँ दिल्लीको शहादरास्थित विवेक विहार इलाकामा भएको यो घटनामा संलग्न विद्यार्थीको पहिचान खुलेको छैन । विद्यार्थीले १५ मिनेटसम्म ४४ वर्षीया शिक्षिकालाई शौचालयमा बन्द गरिदिए । पछि बल्ल अर्को स्टाफ आएर उनलाई बाहिर निकाले ।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
साढे १२ बजे स्कूलको पहिलो शिफ्ट सकिएपछि शिक्षिका शौचालय गएकी छिन् । सूत्रहरूका अनुसार शिक्षिका शौचालयभित्र हुँदा कसैले ढोका लगाइदिएको अनुभव गरिन् ।
शिक्षिकाले ढोका खोलिदिन अनुरोध गर्दा विद्यार्थीले उनलाई छाडा गाली ग–यो । त्यसपछि उसले भन्यो, ‘मसँग यौन गर्ने हो भने मात्र म ढोका खोलिदिन्छु ।’
यो सुनेपछि शिक्षिकाले हारगुहार लगाइन् । अनि त्यो विद्यार्थी भाग्यो । तर शिक्षिकाले उसको अनुहार झुलुक्क देखिन् ।
प्रहरीले आरोपितको अनुहार चिनियोस् भन्नका लागि शिक्षिकालाई करीब ३०० विद्यार्थीलाई हेर्न लगाइन् । तर उनले अनुहार चिन्न सकिनन् ।
प्रहरीले आरोपितको खोजी जारी राखेको छ ।
विद्यालयले विद्यार्थीहरूलाई सही र गलत कार्यका बीच फरक छुट्याउनका लागि प्रशिक्षण दिने भएको छ ।
एजेन्सी