काठमाडौं, ६ माघ — संसार अचम्मका कुराहरूले भरिएको छ । भारतको गुजरात राज्यको वडोदरामा यस्तै एक अचम्मको घटना भयो ।

त्यहाँको कन्डारी गाउँको एक इनारमा बडेमानको अजिंगर थियो । पछि गाउँमा कुकुरका चार छाउरा इनारमा खसेछन् । अजिंगरका कारण गाउँलेहरूले छाउरालाई उद्धार गर्ने हिम्मत पनि गरेनन् ।
पछि चाहिँ केही गाउँलेले पशु अधिकारवादीहरूलाई घटनाको जानकारी दिए । उनीहरूले इनारमा हेर्दा पो अचम्मको दृश्य भेटे ।
६ हप्ताका छाउराहरू ६ फीट लामो अजिंगरको छेउमा बसेर आराम गरिरहेका थिए । छाउरालाई निल्नुको साटो अजिंगर उनीहरूको रक्षा गरिरहेको थियो ।
त्यसपछि एउटा डोरी इनारमा झारेर पशु कार्यकर्ताहरूले छाउरालाई बचाए अनि अजिंगरलाई पनि निकाले । पछि उनीहरूले अजिंगरलाई जंगलमा छाडिदिए ।
गाउँलेहरू यो घटना देखेर आश्चर्यमा परेका छन् । यो ममता हो कि के हो ? अघाएर डम्म थियो कि त अजिंगर ?
एजेन्सी