
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् ।
गोरखाको शहीद लखन गाउँपालिका भवनको आज उद्घाटन गर्दै उनले आयोजना निर्माणमा राजनीतिक सहमति अपरिहार्य भएको बताए ।
जुनसुकै हालतमा आयोजना निर्माण हुने बताउँदै उनले आयोजनाको ‘मोडालिटी’ र स्रोत व्यवस्थापनका कारण निर्माणमा विलम्ब भएको उल्लेख गरे । ‘बूढीगण्डकी आयोजना जसरी पनि बनाउनुपर्छ,' उनले भने ।
आफू प्रधानमन्त्री रहेका बेला बूढीगण्डकी आयोजना निर्माणका लागि गरेको कसरतबारे सुनाउँदै उनले भने, 'बूढीगण्डकी आयोजना निर्माणमा ढिलाई हुँदा जनतालाई धेरै पीडा भइरहेको छ ।'
सङ्घीय शासन व्यवस्था अभ्यासमा आएपछि पालिकाहरूका भवन सुविधा सम्पन्न बनेकाले जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए ।
'सिंहदरबार गाउँगाउँमा भनेर हामीले जे परिकल्पना गरेर संविधान बनाइयो,' अध्यक्ष प्रचण्डले भने, 'जनताले सुविधासम्पन्न भवनबाट सहज ढङ्गले सेवा प्रवाह प्राप्त गर्न सकेमात्र त्यसको औचित्य पुष्टि हुनसक्छ ।'
उनले पछिल्लोसमय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कोसिस भइरहेको भन्दै गणतन्त्र पक्षधर सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
आर्थिक विकास, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर राज्यले काम गर्नुपर्ने प्रचण्डको सुझाव छ ।