०१ असार २०८३, सोमबार

फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई जहाजभित्र पत्नीको ‘धक्का’, भएको के हो ?

जेठ १३, २०८२
काठमाडौं
फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई जहाजभित्र पत्नीको ‘धक्का’, भएको के हो ?

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई उनकी पत्नी ब्रिजिटले जहाजभित्रै धकेलेको भिडियो अहिले भाइरल भइरहेको छ । 

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा ब्रिजिट म्याक्रोनले विमानबाट तल झर्नुअघि पतिको अनुहारतर्फ हात सारेर उनलाई पछाडि हटाएको देखिन्छ । त्यसपछि म्याक्रोनले आफूलाई सम्हालेका थिए र विमानको तल छरिएका क्यामेरातर्फ हात हल्लाएका थिए ।

यो घटना सोमबार भियतनाममा भएको हो । उनीहरू दक्षिण–पूर्वी एसियाको भ्रमणका लागि भियतनाम पुगेका थिए । राष्ट्रपति म्याक्रोनले यो घटनालाई सामान्य भनेका छन् ।

यो घटना हुँदा ब्रिजिट म्याक्रोन जहाजको ढोका पछाडि केही क्षण लुकेकी देखिन्छिन्, जसले उनको अनुहारको हाउभाउ बुझ्न कठिन बनाएको थियो । त्यसपछि भने उनीहरू सँगै भर्‍याङ तल झरेका थिए, तर ब्रिजिटले म्याक्रोनको हात समाउन भने अस्वीकार गरेकी थिइन् । उनीहरू सन् २००७ मा वैवाहिक सम्बन्धमा जोडिएका थिए ।

भिडियो भाइरल भएपछि हनोईमा पत्रकारहरूसँग कुरा गर्दै म्याक्रोनले भने, ‘म पत्नीसँग सामान्य भनाभन, या भनौं मजाक गर्दै थिएँ । त्यो केही होइन ।’

यस घटनाबारे एलिजे भवनका एक अधिकारीले भनेका छन्, ‘यो यात्रा सुरु हुनुअघि राष्ट्रपति र उनकी पत्नी एकअर्कासँग रमाइलो गरिरहेको क्षण थियो । यो उनीहरूबीचको आत्मीयताको क्षण थियो ।’

करिब एक दशकपछि कुनै फ्रान्सेली राष्ट्रपतिको यो पहिलो भियतनाम भ्रमण हो । म्याक्रोनको भ्रमणको उद्देश्य फ्रान्सको पूर्व उपनिवेशमा प्रभाव विस्तार गर्नु रहेको रोयटर्सले जनाएको छ । 

भियतनामको अर्थतन्त्र निर्यातमा निर्भर रहेको छ र हाल अमेरिकासँगको व्यापार वार्तामा केही सहमति जनाएको छ, ताकि ४६ प्रतिशत अमेरिकी करबाट जोगिन सकोस् । तर, युरोपेली संघ (ईयू)ले भने भियतनामले अमेरिकी सामान धेरै किन्दा युरोपेली हितमा असर पर्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघबाट आयात हुने वस्तुमा ५० प्रतिशत कर लगाउने चेतावनी दिएका थिए, तर दुई दिनपछि आफ्नो अडान केही फुकाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्