
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल वायुसेवा निगमले तत्कालीन क्याप्टेन कुल बहादुर लिम्बुले सामाजिक सञ्जालमा अनधिकृत रूपमा आन्तरिक कागजात सार्वजनिक गर्दै निगमको छवि बिगार्ने प्रयास गरेको आरोप लगाएको छ।
साथै, निगमले मंगलबार एक विज्ञप्तिमार्फत उनलाई अवकाशप्राप्त कर्मचारीको हैसियतमा दिइँदै आएको सेवा सुविधा समेत कार्यकारी समितिले अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्का गर्ने निर्णय गरेको जनाएको छ ।
००००
सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले मंगलबार दक्षिण कोरियामा अध्ययन गर्न आवश्यक वैदेशिक अध्ययन अनुमति (एनओसी) रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
००००
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र अब असम्भव रहेको बताएका छन् ।
गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको मंगलबार उद्घाटन गर्दै उनले राजावादीले गर्न लागेको भनिएको आन्दोलनतर्फ लक्षित गर्दै २१ औं शताब्दीको युगमा निरंकुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए ।
००००
लगानी बोर्डको ६३औं बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।
००००
नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे पुनः निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिए ।
पोखरामा भएको दशौं महाधिवेशनमा उनले ७९६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटमत प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत ल्याए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले मनसुनजन्य विपद्बारे नागरिकले सहजै बुझ्न सक्नेगरी सूचना सम्प्रेषण गर्न निर्देशन दिएका छन् ।
आसन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा मंगलबार बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर ओलीले यस्तो निर्देशन दिएका हुन् ।
००००
यातायात व्यवसायी तथा मजदुरले सङ्घीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेजीको माग गरेका छन् ।
यातायात क्षेत्रमा क्रियाशील आठ व्यवसायी तथा मजदुर संस्थाले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गरी सवारी ऐन, २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी सङ्घीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको उक्त नियमावली खारेजीको माग गरेका हुन् ।
००००
नेपाली कांग्रेसको १५ औं महाधिवेशनको टुंगो नलागे पनि कोइराला परिवारका नेताद्वय डा. शेखर कोइराला र डा शशांक कोइराला भिड्ने मुडमा देखिएका छन् ।
१४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका शेखर फेरि एकपटक सभापतिमा दाबेदारी पेश गर्न कस्सिएका छन् । यही बेला पूर्व महामन्त्री शशांकले पनि महाधिवेशनकेन्द्रित अभियान र टिप्पणी गर्न थालेका छन् ।
००००
गणतन्त्र पक्षधर र विरोधीले एकै क्षेत्रमा प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था मिलाउन सकस पर्ने देखिएको छ । प्रमुख सत्तारुढ दल नेकपा एमालेले जेठ १५ गते बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शन गर्दैछ ।
सोही दिन गणतन्त्रविरोधी राजावादीहरूले समेत विरोध प्रदर्शन गर्दैछन् ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठक आफ्नो बारेमा मात्रै केन्द्रित भएको सुन्दा अचम्म लागेको बताएका छन् ।
विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला, तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने ।
००००
सरकारले १० जना सचिवहरूको सरुवा गरेको छ ।सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका १० जना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर दुई हजार छ सय ७५ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।
००००
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबार विपक्षीको अवरोधका कारण बस्न नसकेको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित भएको संसद् सचिवालयले जनाएको छ । मंगलबार शुरूमा बैठक ३० मिनेटका लागि भनेर स्थगित गरिएको थियो । त्यसपछि दिउँसो २स्३० बजे बस्ने गरेर सूचना टाँस भएको थियो ।
००००
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट मंगलबार दर्ता भएको छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्ति कानूनसम्मत नरहेको भन्दै दिएको रिट निवेदन मंगलबार दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । उनका अनुसार रिटको पेसी बुधबारका लागि तोकिएको छ ।
पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित उम्मेदवार रहेको र गभर्नर सिफारिस समितिका पदाधिकारी भई राजीनामा गरेको रिट निवेदनमा उल्लेख छ ।
००००
राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२–८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।