
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बाल गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ।
सिजनको शुरूआत आगामी असार १ गतेदेखि हरेक आइतबार र सोमबार राति ८:३० बजे स्पेस ४ के टेलिभिजन तथा डोको युट्युब च्यानल मार्फत प्रसारण हुनेछ।
करिब तीन वर्षको अन्तरालपछि पुनः शुरू हुन लागेको शो यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुनेछ भन्ने नोबडी प्रोडक्शनको दाबी छ।
निर्णायक मण्डलमा दीप श्रेष्ठसहित सुबानी मोक्तान र स्वप्न सुमन छन्। साथै, दश जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन् ।
कार्यक्रमको सञ्चालन चर्चित हास्य कलाकार सुमन काकीले गर्नेछन् ।
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ मा ३१ एपिसोड रहनेछन्, जसमा पहिलो एपिसोडदेखि नै बाल प्रतिभाहरूको जीवन्त प्रस्तुति दर्शकहरूलाई प्रभावित पार्ने अपेक्षा गरिएको छ।
नेपाल मात्र नभएर विश्वभर छरिएका नेपाली समुदायका लागि पनि यो कार्यक्रम प्रसारित हुनेछ ।
अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरियालगायतका देशहरूमा रहेका दर्शकहरूले कार्यक्रम हेर्न, प्रतिस्पर्धीसँग जोडिन सक्नेछन् । यसले कार्यक्रममा अन्तरक्रियात्मकता र समावेशिता थप्ने अपेक्षा गरिएको छ।
सहकार्यको सन्दर्भमा वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले, ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’जस्ता कार्यक्रमहरूले बालबालिकाको कला र क्षमता उजागर गर्ने मात्र होइन, राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
डिजिटल माध्यममार्फत लाखौं दर्शकसम्म नेपाली आवाज पुर्याउन र प्रतिभालाई प्रोत्साहन गर्न वर्ल्डलिंक प्रतिबद्ध रहेको उनले बताए ।