
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सांसद अमृत अर्यालको एउटा अभिव्यक्तिले प्रदेशको राजनीतिमा तरंग ल्याएको छ । अर्यालको भाषणले कोशी कांग्रेसको राजनीतिमा नयाँ समीकरण शुरूआत हुने संकेत गरेको कांग्रेसकै नेताहरू बताउँछन् ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा अर्यालले विगतमा आफूले गरेको निर्णयमा पश्चाताप रहेको बताउँदै अब संसदीय दलको नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला प्रमुख अतिथि थिए ।
‘मैले राजनीतिक जीवनमा धेरै काम गरेको छु । दुई पटक मोरङको सभापति भएँ । दुई पटक केन्द्रीय सदस्य र दुई पटक माननीय भएँ । मलाई अहिले रिग्रेट फिल भएको छ,’ कांग्रेस कोशी प्रदेश समितिको अधिवेशन स्मरण गर्दै अर्यालले भने, ‘मैले गुरु घिमिरेलाई हराएर उद्धवजीलाई प्रदेश सभापतिमा जिताउने काम गरेँ । त्यो मेरो राजनीतिक भूल थियो । यस्तो भूल अब गर्दिनँ ।’
कांग्रेसको पहिलो कोशी प्रदेश अधिवेशनमा अर्यालले उद्धव थापालाई सघाएका थिए । थापा नेता कृष्ण सिटौला लाइनका नेता मानिन्छन् । अर्यालको स्वीकारोक्तिले प्रदेशको कांग्रेस राजनीति तरंगित भएको हो । शेखर नै सहभागी कार्यक्रममा अर्यालले गरेको भाषणलाई लिएर व्यापक चर्चासमेत शुरू भएको छ ।
‘पूर्वमुख्यमन्त्री केदार कार्कीबाट शेखर लाइनको गुट प्रभावकारी रूपमा चल्दैन भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ कोइराला समूहका एक प्रदेश सांसदले भने, ‘उद्धव थापाको विकल्प खोज्नुपर्ने अवस्था आएको छ । सरकारका हरेक कदममा संसदीय दलको नेताले साथ दिँदा जनतामा व्यापक निराशा छाएको छ ।’
कोशी प्रदेश सभामा कांग्रेसका २९ जना सांसद छन् । संसदीय दलको नेता बन्न १५ जना सांसदको समर्थन आवश्यक पर्छ । अर्याललाई कोइराला समूहले समर्थन गरे पनि हाल १० जना मात्रै पुग्ने अवस्था छ । केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा ८ जना र अर्याल संसदीय दलको नेता उठ्दा पाएको २ मतगरी जम्मा १० जना हुन्छन् ।
तथापि, नेताहरूले उद्धव थापाको विकल्प खोज्ने संख्या बहुमतको नजिक पुगेको दाबी गरेका छन् । ‘संसदीय दलको नेता कसलाई बनाउने भनेर अझै सहमति भएको छैन । कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार, अमृत अर्याल र संसदीय दलका उपनेता हिमाल कार्कीमध्ये कोही एकजना बन्न सक्छन्,’ कांग्रेसका एक प्रदेश नेताले भने ।
शुरूमा कोइराला क्याम्पमा रहेका अर्याल त्यसपछि देउवा क्याम्पमा गएका थिए । बीचमा महामन्त्री गगन थापाको क्याम्पमा समेत पुगेको चर्चा चलेको थियो । अहिले फेरि कोइराला क्याम्पमा फर्किएको नेताहरू बताउँछन् ।
नेता अर्यालले आफू कुन क्याम्पमा छु भन्नेबारे खुलाउन चाहेनन् । तर, संसदीय दलको नेता फेर्ने प्रयास भने भइरहेको स्वीकार गरे । ‘मेरो पहिलादेखि नै संसदीय दलको नेता फेर्ने भन्ने कुरा हो,’ उनले भने, ‘अब हेरौं के हुन्छ ।’
प्रदेश सांसदको रूपमा साढे २ वर्ष अवधि पार गर्दा संसद्मा बोल्न पनि नसकेको उनले गुनासो गरे । ‘त्यहाँ म जम्मा एक पटक बोलेको छ । हामीजस्तो सक्रिय मानिसले यसरी कैदजस्तो बन्नुपर्दा के भएको होला ?’ उनले भने ।
कोशी प्रदेश सरकार र प्रदेशसभामा कांग्रेसले अवमूल्यन भएर काम गर्नु परिरहेको उनले गुनासो गरे । प्रदेशको नामकरणमा पनि कांग्रेस एमालेको निर्णयमा भोट हाल्न बाध्य भएको र आफ्नो स्वतन्त्र निर्णय गर्न नसकेको उनको आरोप छ ।
‘दलका नेता उद्धवजीलाई हामीले जातीय पहिचानको पक्षमा उभिने कि कोशीको पक्षमा भनेर प्रस्ताव गर्यौं । तर पछि एमालेले गरेको निर्णयमा भोट हाल्यौं,’ अर्यालले संसदीय दलको कार्यशैलीमा असन्तुष्टि जनाउँदै भने, ‘काम गर्ने शैली पनि छैन । कुराकानी साझा पनि भएको छैन । अहिलेसम्म २६–२७ वटा नियुक्ति भयो होला । कुनै विषयमा कुनै जानकारी हुँदैन । कसैको खल्तीबाट नाम निकालिन्छ र राजनीतिक नियुक्ति गरिन्छ । हामीले प्रेसमा पढेर थाहा पाउनुपर्छ ।’
उद्धव थापा समूहभित्र नै अहिले आन्तरिक किचलो रहेको नेताहरूले बताएका छन् । सरकारको कामको विषयलाई लिएर किचलो रहेको उनीहरूको भनाइ छ । एमाले–कांग्रेसको वर्तमान समीकरण रहिरहे कांग्रेसको भागमा मुख्यमन्त्री आउँदासम्म संसदीय दलको नेता फेर्नेगरी तयारी भइरहेको नेताहरू बताउँछन् । ‘यसअघि केन्द्रले हस्तक्षेप गर्यो । अब आगामी महाधिवेशनमा कार्यकर्ता जोगाउन केन्द्रबाट हस्तक्षेप गर्ने अवस्था आउँदैन,’ कांग्रेसकै एक नेताले भने ।