
चीन तथा भारतलगायत केही दक्षिण एसियाली मुलुकमा कोभिड-१९ को नयाँ लहरले गति लिइरहेका बेला नेपालमा पनि केही केसहरू देखिएका छन् ।
नेपालमा हालसम्म ७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संख्या बढ्न सक्ने अनुमानलाई आधार मानेर स्वास्थ्य मन्त्रालय र महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले सतर्कता तथा तयारीलाई तीव्र बनाएका छन् ।
यद्यपि, यो नयाँ भेरिएन्ट पहिलेभन्दा कम घातक रहेको, तर सावधानी भने आवश्यक हुने विज्ञहरूको सुझाव छ ।
महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हालसम्म ७ जनामा कोभिड-१९ पुष्टि भएको छ ।
विशेषगरी धुलिखेल शिक्षण अस्पतालको गाइनोलोजी वार्डमा भर्ना भएका केही गर्भवती र सुत्केरी महिलामा सङ्क्रमण देखिएको हो ।
अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले सङ्क्रमित बिरामीहरूलाई छुट्टै कोठामा राखेर उपचार गरिएको बताएका छन् ।
साथै, मास्कको प्रयोग, हातको सरसफाइ र अन्य सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिएको डा. ताम्राकारको भनाइ छ ।
कम घातक तरसंक्रामक
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले नेपालमा देखिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ पुस्ता भएको बताए ।
उनले लोकान्तरसँग भने, 'यो भेरियन्ट पहिलेभन्दा कमजोर छ, तर बढी सङ्क्रामक देखिन्छ । यो सामान्य रुघाखोकी र ज्वरोजस्तै देखिन्छ । यसमा दीर्घरोगीहरूले विशेष सावधानी अपनाउनुपर्छ, तर सामान्य जनताले मास्कको प्रयोग र भीडबाट टाढा रहँदा पर्याप्त हुन्छ ।'
डा. पुनले यो लहरको उतारचढाव सामान्य रहेको बताए । 'धेरैजसो केसहरू हल्का हुन्छन् र हामीलाई थाहा पनि हुँदैन । पहिलेजस्तो डरलाग्दो अवस्था होइन, तर सजगता आवश्यक छ,' उनले भने ।
स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९ को सम्भावित लहरलाई नियन्त्रण गर्न तयारी शुरू गरिसकेको छ ।
मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा केही केस देखिएकै भरमा डर मान्नुपर्ने अवस्था नरहेको बताए ।
उनले लोकान्तरसँग भने, 'नेपालमा केही केसहरू देखिएका छन्, तर डराउनुपर्ने अवस्था छैन । हामीले विगतको महामारीबाट राम्रो पाठ सिकेका छौं । सीमा नाकामा कडाइ र टेस्टिङको व्यवस्था गरिएको छ । हाम्रो स्वास्थ्य संयन्त्र कठिन परिस्थिति पनि सामना गर्न तयार छ ।'
यसैबीच, मंगलबार महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहसँग भर्चुअल बैठक आयोजना गरी जानकारी संकलनसमेत गरिसकेको छ ।
छिमेकी मुलुकहरूको प्रभाव
भारतमा फैलिएको कोभिड-१९ को नयाँ लहरले नेपालमा पनि जोखिम बढाएको छ । भारतसँगको खुला सिमाना र दैनिक आवतजावतले सङ्क्रमण फैलने सम्भावना उच्च देखिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले पनि भारतमा अहिले ओमिक्रोनको नयाँ उप-भेरियन्ट देखिएको समाचार प्रसारण गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयले सोही भेरिएन्ट नेपालमा प्रवेश गरेको हुनसक्ने अनुमान गरेको छ ।
मन्त्रालयका सचिव डा. देवकोटा भन्छन्, 'अहिले भारतबाट केही केसहरू नेपाल प्रवेश गरेको देखिन्छ । यद्यपि, हामी त्यसको पुष्टि गर्दैछौं र यसबारे भारतको स्वास्थ्य प्राधिकरणसँग पनि समन्वय गर्ने तयारी हुँदैछ ।'
विगतको पाठ
विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार सन् २०२० र २०२१ मा आएका कोभिड १९ का दुईवटा लहरका कारण नेपालमा १२ हजारको मृत्यु भएको थियो । त्यस्तै, संक्रमितमध्ये ९ लाख ९१ हजारभन्दा बढी निको भएका थिए ।
त्यतिबेला नेपालको स्वास्थ्य प्रणालीमाथि ठूलो दबाब सिर्जना भएको थियो । अक्सिजनको अभाव, अस्पताल बेडको कमी र खोप वितरणमा ढिलाइजस्ता समस्याहरूले हजारौंको ज्यान गएको थियो ।
तर, अहिले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले यी कमजोरीहरूलाई सम्बोधन गर्न तयारी थालेका छन् ।
यो सामान्य भेरिएन्ट रहेकाले विज्ञहरूले जनतालाई सतर्क रहन तर आतंकित नहुन आग्रह गरेका छन् ।
डा. पुनले भने, 'यो भेरियन्टको सङ्क्रामक गति तीव्र छ, तर धेरैजसो केसहरू हल्का छन् । मास्कको प्रयोग, भीडभाडबाट टाढा रहने र हातको सरसफाइले धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ ।'
स्वास्थ्य मन्त्रालयले पनि जनतालाई नियमित स्वास्थ्य जाँच गर्न, लक्षण देखिएमा तुरुन्त टेस्ट गर्न र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ ।