२३ असार २०८३, मंगलबार
सतर्कता आवश्यक, डराइहाल्नु नपर्ने

कोरोनाको नयाँ भेरिएन्टबारे विज्ञको विश्लेषण– संक्रामक बढी, जोखिम कम

जेठ १४, २०८२
काठमाडौं
कोरोनाको नयाँ भेरिएन्टबारे विज्ञको विश्लेषण– संक्रामक बढी, जोखिम कम

चीन तथा भारतलगायत केही दक्षिण एसियाली मुलुकमा कोभिड-१९ को नयाँ लहरले गति लिइरहेका बेला नेपालमा पनि केही केसहरू देखिएका छन् ।

नेपालमा हालसम्म ७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संख्या बढ्न सक्ने अनुमानलाई आधार मानेर स्वास्थ्य मन्त्रालय र महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले सतर्कता तथा तयारीलाई तीव्र बनाएका छन् ।

यद्यपि, यो नयाँ भेरिएन्ट पहिलेभन्दा कम घातक रहेको, तर सावधानी भने आवश्यक हुने विज्ञहरूको सुझाव छ ।

महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हालसम्म ७ जनामा कोभिड-१९ पुष्टि भएको छ ।

विशेषगरी धुलिखेल शिक्षण अस्पतालको गाइनोलोजी वार्डमा भर्ना भएका केही गर्भवती र सुत्केरी महिलामा सङ्क्रमण देखिएको हो ।

अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले सङ्क्रमित बिरामीहरूलाई छुट्टै कोठामा राखेर उपचार गरिएको बताएका छन् ।

साथै, मास्कको प्रयोग, हातको सरसफाइ र अन्य सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिएको डा. ताम्राकारको भनाइ छ ।

कम घातक तरसंक्रामक

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले नेपालमा देखिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नयाँ पुस्ता भएको बताए ।

उनले लोकान्तरसँग भने, 'यो भेरियन्ट पहिलेभन्दा कमजोर छ, तर बढी सङ्क्रामक देखिन्छ । यो सामान्य रुघाखोकी र ज्वरोजस्तै देखिन्छ । यसमा दीर्घरोगीहरूले विशेष सावधानी अपनाउनुपर्छ, तर सामान्य जनताले मास्कको प्रयोग र भीडबाट टाढा रहँदा पर्याप्त हुन्छ ।'

डा. पुनले यो लहरको उतारचढाव सामान्य रहेको बताए । 'धेरैजसो केसहरू हल्का हुन्छन् र हामीलाई थाहा पनि हुँदैन । पहिलेजस्तो डरलाग्दो अवस्था होइन, तर सजगता आवश्यक छ,' उनले भने ।​

स्वास्थ्य मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड- १९ को सम्भावित लहरलाई नियन्त्रण गर्न तयारी शुरू गरिसकेको छ ।

मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा केही केस देखिएकै भरमा डर मान्नुपर्ने अवस्था नरहेको बताए ।

उनले लोकान्तरसँग भने, 'नेपालमा केही केसहरू देखिएका छन्, तर डराउनुपर्ने अवस्था छैन । हामीले विगतको महामारीबाट राम्रो पाठ सिकेका छौं । सीमा नाकामा कडाइ र टेस्टिङको व्यवस्था गरिएको छ । हाम्रो स्वास्थ्य संयन्त्र कठिन परिस्थिति पनि सामना गर्न तयार छ ।'

यसैबीच, मंगलबार महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाले स्थानीय तहसँग भर्चुअल बैठक आयोजना गरी जानकारी संकलनसमेत गरिसकेको छ ।

छिमेकी मुलुकहरूको प्रभाव

भारतमा फैलिएको कोभिड-१९ को नयाँ लहरले नेपालमा पनि जोखिम बढाएको छ । भारतसँगको खुला सिमाना र दैनिक आवतजावतले सङ्क्रमण फैलने सम्भावना उच्च देखिएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले पनि भारतमा अहिले ओमिक्रोनको नयाँ उप-भेरियन्ट देखिएको समाचार प्रसारण गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले सोही भेरिएन्ट नेपालमा प्रवेश गरेको हुनसक्ने अनुमान गरेको छ ।

मन्त्रालयका सचिव डा. देवकोटा भन्छन्, 'अहिले भारतबाट केही केसहरू नेपाल प्रवेश गरेको देखिन्छ । यद्यपि, हामी त्यसको पुष्टि गर्दैछौं र यसबारे भारतको स्वास्थ्य प्राधिकरणसँग पनि समन्वय गर्ने तयारी हुँदैछ ।'

विगतको पाठ

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार सन् २०२० र २०२१ मा आएका कोभिड १९ का दुईवटा लहरका कारण नेपालमा १२ हजारको मृत्यु भएको थियो । त्यस्तै, संक्रमितमध्ये ९ लाख ९१ हजारभन्दा बढी निको भएका थिए ।

त्यतिबेला नेपालको स्वास्थ्य प्रणालीमाथि ठूलो दबाब सिर्जना भएको थियो । अक्सिजनको अभाव, अस्पताल बेडको कमी र खोप वितरणमा ढिलाइजस्ता समस्याहरूले हजारौंको ज्यान गएको थियो ।

तर, अहिले स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायहरूले यी कमजोरीहरूलाई सम्बोधन गर्न तयारी थालेका छन् ।

यो सामान्य भेरिएन्ट रहेकाले विज्ञहरूले जनतालाई सतर्क रहन तर आतंकित नहुन आग्रह गरेका छन् ।

डा. पुनले भने, 'यो भेरियन्टको सङ्क्रामक गति तीव्र छ, तर धेरैजसो केसहरू हल्का छन् । मास्कको प्रयोग, भीडभाडबाट टाढा रहने र हातको सरसफाइले धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ ।'

स्वास्थ्य मन्त्रालयले पनि जनतालाई नियमित स्वास्थ्य जाँच गर्न, लक्षण देखिएमा तुरुन्त टेस्ट गर्न र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्